नेकपा केन्द्रीय कमिटी बैठकमा अध्यक्षको राजनीतिक प्रदिवेदनमाथि छलफल जारी | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

नेकपा केन्द्रीय कमिटी बैठकमा अध्यक्षको राजनीतिक प्रदिवेदनमाथि छलफल जारी

काठमाडौं, १६ माघ । नेकपाको केन्द्रीय कमिटी बैठक आज दोश्रो दिन पनि जारी रह्यो । अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिबेदन र महासचिव बिष्णु पौडेलको सांगठनिक प्रतिबेदन माथी केन्द्रीय सदस्यहरुले बोल्नेक्रम सुरु भएको छ ।

नेकपाको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले जनचाहना अनुसार सरकारले काम गरेको दावी गर्दै सरकारको राम्रो कामको प्रचार नभएको गुनासो गर्नु भएको थियो ।

प्रधानमन्त्रीको दावी अनुसार विश्वमा उच्च आर्थीक बृद्धि गर्ने देशमध्ये नेपाल दशौं स्थानमा पर्न सफल भएको छ । भ्रष्टाचार नियन्त्रणमा पनि नेपालले सुधार गरेको छ । पूर्वाधारको विकासमा पनि नेपालले तीव्रता लिएको छ ।

प्रधानमन्त्रीले यसरी सरकारले दिनदिनै सफलता हासिल गरिरहेको र प्रगतीको सूचक बढीरहेको भनेर दावी गरिरहँदा नेकपाकै केन्द्रीय सदस्यहरुले भने पत्याउन सकेनन् ।

केन्द्रीय कमिटीको दोश्रो दिनको बैठकमै केन्द्रीय सदस्यहरुले प्रधानमन्त्रीले दावी गरेजस्तो अवस्थामा नपाएको बताएका छन् । जनताको दैनीकिसँग जोडिएको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुराहरुमा सरकारले खासै काम गर्न नसकेको भनेर नेकपाकै केन्द्रीय सदस्यहरुले सरकार र नेतृत्वको आलोचना गरेका छन् ।

एकथरी केन्द्रीय सदस्यहरुले यसरी सरकारले प्रभावकारी काम गर्न नसकेको भनेर आलोचना गरिरहँदा अर्काथरी केन्द्रीय सदस्यहरुले भने प्रधानमन्त्रीको भावना अनुसारको काम गर्ने टिम नहँुदा सरकारको प्रभावकारिता नदेखिएको भन्दै सरकारको बचाउ गरेका छन् ।

सरकारको बचाउ गर्ने केन्द्रीय सदस्यहरुले थप प्रभावकारीताका लागि प्रधानमन्त्रीको सहयोगी समूहलाई पुनर्गठन गर्न सुझाब दिएका छन् ।

नेकपाको केन्द्रीय कमिटी बैठक माघ १९ गतेसम्म चल्ने बताइएको छ । पार्टी अध्यक्षबाट प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिवबाट प्रस्तुत सांगठनिक प्रतिवेदन तथा विधान संशोधन प्रतिवेदनमाथि अहिले बिभिन्न १५ समुहमा विभाजन गरी छलफल भइरहेको छ ।

केन्द्रीय कमिटी ४सय ४५ सदस्यीय जम्बो भएकोले छलफल पार्टी कार्यालय धुम्बाराही, पार्टी कार्यालय पेरीस डाँडा र राष्ट्रियसभा गृहमा भइरहेको छ । छलफलमा सचिवालय सदस्यहरु भने सामेल छैनन् ।

छलफल अध्यक्षको प्रतिवेदन माथि बढी केन्द्रित हुनुपर्नेमा अधिकांस सदस्यहरुले सरकारको काम, एमसीसी सम्झौता, सीमा क्षेत्रको समस्या समाधान नभएको सम्बन्धमा आआफ्ना धारणा राखिरहनु भएको छ ।

छलफलपछि शुक्रबार र शनिबार समूहका नेताले आ–आफ्नो समूहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसपछि बैठकमा उठेका विषयमा अध्यक्षले जवाफ दिने कार्यक्रम रहेको छ ।