काठमाडौँ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर पोखरीमा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्नुभएको छ ।
छठ पर्वको मुख्य दिन आईतवार जनकपुरधामसहित मिथिलाञ्चलका विभिन्न घाटमा श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिरहेका बेला पौडेल पनि गंगासागरस्थित छठ घाट पुगेर पूजाआराधनामा सहभागी हुनुभएको हो । यसअघि उहाँले छठ पर्वअन्तर्गत खरना विधिसमेत सम्पन्न गर्नुभएको थियो । चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक शुरु भएको चारदिने छठ महापर्वको मुख्य पूजा षष्ठी तिथिको साँझ सम्पन्न गरिएको हो । यस अवसरमा जनकपुरधामका गंगासागर, धनुषसागर, अरगज्जा, दशरथ तलाउलगायत मिथिलाञ्चलका विभिन्न पोखरी, नदी तथा जलाशयका घाटहरूमा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको थियो । छठ पर्वका लागि व्रतालु तथा श्रद्धालुहरूले घरमै ठकुवा, भुसवा, खजुरिया, पेरुकियालगायत परम्परागत गुलियो परिकार तयार पारेका थिए । त्यस्तै फलफूल, मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला र केरालगायत पूजाका सामग्री नाङ्लो, कोनिया, सरवा, ढकिया तथा माटाका भाँडामा सजाएर घाटसम्म पु¥याएका थिए । घाटहरूमा परम्परागत विधिअनुसार सूर्यदेव र छठी माताको पूजाआराधना गरिएको थियो । व्रतालुहरूले नदी तथा पोखरीमा उभिएर अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका थिए । छठका परम्परागत लोकगीत र भजनले जनकपुरधामसहित मिथिलाञ्चलको वातावरण भक्तिमय बनेको थियो । छठ पर्वमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि सोमवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै चारदिने महापर्व विधिवत रूपमा सम्पन्न हुनेछ ।




