ठेक्का पाएको ६ बर्षसम्ममा पनि पुल सम्पन्न हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ठेक्का पाएको ६ बर्षसम्ममा पनि पुल सम्पन्न हुन सकेन

इलाम, ६ मंसिर । इलामको माईजोगमाई गाउँपालिकाको सोयाङबाट इलाम सदरमुकाम जोड्ने माइखोलामा गएको ६ वर्ष अघिदेखि निर्माण कार्य थालिएको पुलको निर्माण कार्य अझै सम्पन्न भएको छैन । लामो समयसम्म पनि पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ ।

निर्माणाधिन पक्की पुल ६ वर्षमा पनि सम्पन्न हुन नसक्दा इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाका बासिन्दा दैनिक समस्या भोग्न बाध्य छन् ।

पुल समयमा नबन्दा सदरमुकाम इलाम र गाउँपालिकाको सोयाङ, नयाँ बजारका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । दुवैतिर सडकको स्तरोन्नति भएपनि खोलामा सवारी साधन वारपार गर्न पाउँदैनन् ।

झोलुङ्गे पुलबाटै यात्रु ओहोर दोहोर गर्ने गरेका छन् । तर सवारी साधन हिउँदका दिनमा त जसोतसो गाडी कुदाउँछन् वर्खायाममा भने गाडी नै खोलाबाट वारपार गर्न सक्दैन ।

पुल निर्माणसँगै शुरु भएको सुपरमाई जलविद्युत आयोजना १४ महिनामै निर्माण सम्पन्न भयो । तर वर्षौ वितेपनि पुल नबनेकोमा स्थानीय आश्चर्यमा परेका छन् । आर्थिक वर्ष २०७०÷०७१ मा सडक डिभिजन कार्यालय इलाम मार्फत पुल ठेक्कामा दिइएको हो ।

नेशनल नीलगीरी जेभीले ठेक्का लिएको पुल पटकपटक म्याद थप हुँदा पनि निर्माण सम्पन्न भएको छैन । करिव पाँच करोड लागतमा शुरु भएको पुल निर्माणमा वर्षौ ढिलाई हुँदा समेत कार्यालयले तदारुकता देखाएको पाइँदैन । यता माइजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले पुल निर्माणको गति तिव्र गर्न आफुहरुले पहल गरेको बताउनु भयो ।

ठेकेदारको लापरवाहीका कारण नेपालमा सयौँ पुलका निर्माण कार्य लथालिङ्ग अवस्थामा छन् । सम्बन्धित सरकारी निकायले यस्तो निर्माण कार्य ढिलासुस्ती गर्ने ठेकेदारहरुलाई कारबाहीका तथा समयावधि भित्र निर्माण कार्य सम्पन्न गर्नेलाई प्रेरित गर्नुर्ने आवश्यकता देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);