हरिवोधिनी एकादशीमा बुढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८३, शुक्रबार

हरिवोधिनी एकादशीमा बुढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौँ ।

हरिवोधिनी एकादशीको अवसरमा काठमाडौंको बुढानीलकण्ठस्थित प्रसिद्ध बुढानीलकण्ठ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
एकादशीका दिन भगवान विष्णुको पूजा, आराधना तथा दर्शन गर्न काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजन मन्दिर पुगेका छन् । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण पर्वका रूपमा मनाइने हरिवोधिनी एकादशीलाई भगवान विष्णु चार महिनापछि योगनिन्द्राबाट जागा हुने दिनका रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीदेखि क्षीरसागरमा शयन गर्नुभएका भगवान विष्णु कार्तिक शुक्ल एकादशीका दिन जागा हुने धार्मिक विश्वास छ । त्यसैले यस दिनलाई हरिवोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । यस दिन तुलसी विवाह गर्ने, तुलसीको विशेष पूजा गर्ने तथा भगवान विष्णुको आराधना गर्ने धार्मिक परम्परा छ । चार महिनासम्म रोकिएका विवाह, व्रतवन्धलगायतका शुभकार्य पनि हरिवोधिनी एकादशीपछि शुरु हुने मान्यता रहेको छ । बूढानीलकण्ठ मन्दिरमा रहेको शेषनागमाथि शयन गरिरहनुभएको भगवान विष्णुको विशाल मूर्ति दर्शनका लागि विशेष धार्मिक महत्व राख्ने गर्दछ । जलाशयको बीचमा शेषनागमाथि शयन मुद्रामा रहनुभएका भगवान विष्णुको दर्शन गर्न एकादशीका दिन भक्तजनको विशेष भीड लाग्ने गरेको छ । हरिवोधिनी एकादशीका दिन व्रत बस्ने, बिहानै स्नान गरी भगवान विष्णुको पूजा गर्ने र मन्दिरमा पुगेर दर्शन गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास भक्तजनमा रहेको छ । यस दिन तुलसी र दामोदर अर्थात भगवान विष्णुको विवाह गरिदिने परम्परासमेत रहिआएको छ । एकादशीको अवसरमा मन्दिर परिसरमा पूजाआजा गर्ने, भजनकीर्तन गर्ने तथा धार्मिक गतिविधिमा सहभागी हुने भक्तजनको चहलपहल बढेको छ । पर्वका कारण बुढानीलकण्ठ क्षेत्र धार्मिक तथा सांस्कृतिक गतिविधिले उत्सवमय बनेको छ । हरिबोधिनी एकादशीलाई हिन्दु धर्मावलम्बीहरूले पुण्य प्राप्ति, धार्मिक आस्था र आध्यात्मिक शुद्धिसँग जोडेर मनाउने गरेका छन् । विशेषगरी यस दिन भगवान विष्णुको दर्शन तथा तुलसीको पूजा गर्नाले धार्मिक पुण्य प्राप्त हुने विश्वासका कारण देशभरका विभिन्न विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।

Leave a Reply