काठमाडौँ ।
प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रवार (आज) देखि जनकपुरधाममा शुरु हुँदैछ ।
विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय नेतृत्वको सुदृढीकरण तथा तीनै तहका सरकारबीच शैक्षिक सहकार्य बढाउने उद्देश्यले मंसिर ४ देखि ६ गतेसम्म सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा सातै प्रदेशबाट एक हजारभन्दा बढी प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि र शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ । प्रधानाध्यापक संघ नेपाल मधेसका अध्यक्ष सञ्जय झाले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय नेतृत्व, स्थानीय सरकार, शिक्षक, अभिभावक र नीति निर्माताबीच सहकार्य बढाउनु सम्मेलनको मुख्य उद्देश्य रहेको बताउनु भयो ।
उहाँकाअनुसार सम्मेलनबाट विद्यालय शिक्षाको सुधारका लागि साझा प्रतिबद्धता र आगामी कार्यदिशा तय गरिनेछ । उहाँले प्रधानाध्यापक संघ राजनीतिक संगठन नभएकाले अधिकारका विषयभन्दा सामुदायिक हित र विद्यालय शिक्षाको सुधारका विषयमा सम्मेलनमा केन्द्रित रहेर छलफल गरिने स्पष्ट पार्नुभयो ।
सम्मेलनका क्रममा विद्यालय शिक्षाको गुणस्तर सुधार, समतामूलक पहुँच, शिक्षकको पेसागत मर्यादा तथा शैक्षिक अधिकारको कार्यान्वयनलगायतका विषय समेटिएको ‘जनकपुर घोषणापत्र’ जारी गरिने आयोजकले जनाएको छ । त्यस्तै, सम्मेलनबाट संघको बहुवर्षीय रणनीतिक योजनासमेत सार्वजनिक गरिनेछ ।




