अन्तर्राष्ट्रिय समुदायले बालअधिकार र बालकल्याण प्रवद्र्धनका लागि विश्व बाल दिवस मनाइरहँदा अफगानिस्तानका हजारौँ बालबालिका भने परिवारको गुजारा चलाउन सडकमा काम गर्न बाध्य छन् । गरिबी र आर्थिक सङ्कटका कारण बालबालिकाले पढ्ने, खेल्ने र रमाउने उमेरमै परिवारको आर्थिक जिम्मेवारी सम्हाल्नुपरेको छ । राजधानी काबुलका सडकमा सामान बेच्दै हिँड्ने १३ वर्षीय मोहम्मद जमिर पनि त्यस्तै बालबालिकामध्ये एक हुन् । जमिर आफ्ना भाइसँग बिहानदेखि दिउँसोसम्म फाइल राख्ने फोल्डर बेच्ने गर्छन् । आठ सदस्यीय परिवारको खर्च जुटाउन सहयोग गर्नुपर्ने बाध्यताका कारण उनले सानै उमेरमा काम शुरु गरेका हुन् । कक्षा ३ मा अध्ययनरत उनले दैनिक २०० देखि ३०० अफगानी कमाउने गरेका छन् । सशस्त्र द्वन्द्वका क्रममा बुबा गुमाएका जमिरको सपना भने इन्जिनियर बन्ने छ । सडकमा सामान बेच्नुपर्ने बाध्यता भए पनि उच्च शिक्षा हासिल गरेर आफ्नो देशको पुनर्निर्माणमा योगदान गर्ने चाहना रहेको उनले बताएका छन् । आफूले र भाइले फोल्डर बेचेर कमाएको पैसाले परिवारका लागि रोटी, खाने तेललगायत दैनिक उपभोग्य सामग्री किन्ने गरेको जमिरले बताए । पढाइलाई निरन्तरता दिँदै भविष्यमा इन्जिनियर बन्ने उनको लक्ष्य छ । विश्व बाल दिवस र बालअधिकारबारे जानकारी नभए पनि अन्य बालबालिकासँग खेल्ने, चङ्गा उडाउने र फुटबल खेल्ने रहर रहेको जमिर बताउँछन् । तर परिवारको आर्थिक अवस्थाका कारण ती रहर पूरा गर्न उनलाई समय मिलेको छैन । काबुलका सडकमा जमिरजस्ता धेरै बालबालिका विभिन्न काममा संलग्न देखिन्छन् । उनीहरू जुत्ता पालिस गर्ने, गाडी सफा गर्ने, इँटाभट्टामा काम गर्ने, बेलुन तथा प्लास्टिकका झोला बेच्ने र ठेलामा फलफूल बिक्री गर्ने गर्छन् । अर्का बाल सडक व्यापारी ओमर दैनिक दुई किलो पकाएको केराउ बेचेर ५०० अफगानी आम्दानी गर्छन् । त्यसमध्ये २०० अफगानी उनको नाफा हुने गरेको छ । विद्यालयमा पढ्न मन पराउने ओमरको सपना भविष्यमा चिकित्सक बन्ने रहेको छ । त्यस्तै, कक्षा ४ मा अध्ययनरत बिलाल दिउँसो मिनरल वाटर कम्पनीमा काम गर्छन् । उनले कामबाट प्राप्त हुने रकम परिवारको खर्चमा सहयोग गर्ने गरेका छन् । भविष्यमा व्यावसायिक क्रिकेट खेलाडी बन्ने उनको सपना छ । अफगानिस्तानमा चार दशकभन्दा लामो युद्ध र विदेशी सैन्य हस्तक्षेपका कारण हजारौँ मानिसले ज्यान गुमाएका छन् । यसले धेरै परिवारलाई कमाउने सदस्यविहीन बनाएको छ । फलस्वरूप बालबालिकासमेत परिवारको जीविकोपार्जनका लागि श्रम गर्न बाध्य भएका छन् । अफगान सरकारले पूर्वाधार तथा विकास परियोजनामार्फत आर्थिक चुनौती समाधान गर्ने प्रयास गरिरहेको भए पनि देशभर लाखौँ मानिस गम्भीर मानवीय सङ्कटको सामना गरिरहेका छन् । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार सन् २०२६ मा अफगानिस्तानको कुल जनसङ्ख्याको करिव ४५ प्रतिशत अर्थात दुई करोड १९ लाख मानिसलाई मानवीय सहायता आवश्यक पर्ने अनुमान गरिएको छ । बालबालिकाको अधिकार, शिक्षा र संरक्षणको विषय विश्वव्यापी रूपमा उठिरहँदा अफगानिस्तानका यी बालबालिकाको अवस्था भने गरिबी र मानवीय सङ्कटले बाल्यकालमै उनीहरूलाई श्रमको बोझ बोकाइरहेको उदाहरण बनेको छ ।




