लालबकैया नदीमा निमार्णाधिन पुल अलपत्र | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

लालबकैया नदीमा निमार्णाधिन पुल अलपत्र

lalbakaiya pul

राकेश यादव
रौतहट,  १२ जेठ । रौतहटको जिल्लाको सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने लालबकैया नदीमा निमार्णाधिन पुल अलपत्र परेको छ । पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन जिम्मेवार नबन्दा बर्षायाममा स्थानीयले समस्या भोग्नु पर्ने देखिएको छ । संझौता अनुसार अनुरुप २०७४ माघमा नै सम्पन्न हुनुपर्ने पुल अहीले सम्म पुरा हुन सकेको छैन ।

रौतहटको सदरमुकाम गौर तथा इशनाथ, राजपुर, र परोहा नगरपालिकाका जोड्ने लालबकैया पुल २०७४ माघमा निर्माण सम्पन्न गर्नेगरी २०७१ सालमा सम्झौता भएको थियो । तर अहिलेसम्म पनि पुलको निर्माण कार्य सकिएको छैन । बिभिन्न बहाना र राजनीतिक आडमा पप्पु कन्स्ट्रक्सनले पुल निर्माणमा ढिलाइ गर्दै आएको छ । पुल बन्न नसक्दा रौतहटको इशनाथ,राजपुर र परोहा नगरपालिकाका स्थानियहरुलाई सदरमुकाम गौर र अन्य स्थानमा आवत जावत गर्न समस्या भएको छ ।

समयमै पुल नबन्दा स्थानीयहरु बर्षायाममा ढुंगामार्फत जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका छन । बर्षाको समयमा ज्यानै जोखिममा राखेर स्थानियहरु नदी वारपार गर्ने गर्छन् । गत वर्षको भदौ महिनामा यहि निमार्णाधिन पुलको पिलरमा ठोकिएर २१ जना सवार ढुंगा पल्टिदा ५ जनाको मृत्यु भएको थियो । त्यस घटनापछि भने त्यँहाका स्थानिय त्रसित बनेका छन् ।

२ सय २५ मिटर लम्बाइ र ७ दशमलव २ मिटर चौंडाइको यो पुलको अहिले सम्म जम्मा ७० प्रतिशत मात्र काम सकिएको छ । लालबकैया नदीमा पुल नहुँदा स्थानीयहरु नदीमा बाढी आएको समयमा महँगो भाडा तिरेर भारतको बाटो हुंदै सदरमुकाम गौर आवत जावत गर्छन । हिउँदमा गौर नगरपालिकाले ठेक्का दिएर बनाएको अस्थायी पुलबाट नदी वारपार गर्नका लागि पनि स्थानीयहरुले महंगो रकम तिर्ने गरेका छन् ।

संझौता भएको ५ वर्ष बित्न लाग्दा पनि पुल निमार्णको काम नसकिदा स्थानीयहरु ठेकेदार कम्पनीप्रति आक्रोसित बनेका छन । पप्पु कन्ट्रक्सनले लालबकैया नदीको पुल मात्र होइन रौतहटकै दुर्गा बाग्मती गाउँपालिकामा रहेको बाग्मती पुल पनि अलपत्र अवस्थामा छाडेको छ । यस्तो समस्यामा पनि जनप्रतिनिधिले ध्यान नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

ताजा समाचार