छोरी परीक्षार्थी, बाबु परीक्षा नियन्त्रक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

छोरी परीक्षार्थी, बाबु परीक्षा नियन्त्रक

exam board

काठमाडौं, १३ जेठ । छोरी परीक्षार्थी रहेको परीक्षामा शिक्षामन्त्रीलाई ढाँटेर राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रकका रूपमा कृष्ण शर्मा सहभागी भएको पाइएको छ । कान्तिपुरले गरेको खोजीमा उनी बदनियतपूर्ण तरिकाले परीक्षामा सहभागी भएको भेटिएको हो ।

स्रोतका अनुसार परीक्षाका दिन बिदा बसेका उनी प्रश्नपत्र बनाउन र उत्तरपुस्तिका परीक्षणमा भने संलग्न रहेको पुष्टि हुन्छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र शर्माले मिलेमतो गरी शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समेत यस विषयमा झुक्याउन सफल भए।

शर्माकी छोरी ललितपुरको प्रसादी एकेडेमीबाट कक्षा १२ को परीक्षामा सहभागी हुँदै थिइन्। बुवा नियन्त्रक थिए। उनी प्रश्नपत्र छपाइमा संलग्न रहेको भन्दै बोर्डकै कर्मचारीहरूले असन्तुष्टि जनाएका थिए। उक्त कुरा सञ्चारमाध्यम हुँदै शिक्षामन्त्रीसम्म पुग्यो। मन्त्रीले चासो देखाए। परीक्षा सुरु हुनु २ दिनअघि शर्माले बिदा बस्ने निवेदन दर्ता गराए।

शर्मालाई जिम्मेवारीबाट हटाउने निर्णय भयो। नियन्त्रक शर्मालाई परीक्षाबाट हटाइएको जानकारी मन्त्रीलाई दिइयो। तर शर्मा मन्त्रीलाई समेत झुक्याएर मर्यादाविपरीत परीक्षाका काममा पटक/पटक सहभागी हुँदै आएका छन्। परीक्षाको आचारसंहिता र मर्यादाअनुसार छोराछोरी वा नातागोताका कोही परीक्षामा सम्मिलित हुने भए जिम्मेवारीमा बस्न पाइँदैन।

प्रश्नपत्र छपाइमा र उत्तरपुस्तिका परीक्षणमा सबैभन्दा बढी भूमिका र जिम्मेवारी अन्य कर्मचारीभन्दा नियन्त्रककै हुन्छ। परीक्षा सुरु हुनुभन्दा अघिल्लो दिन शर्मालाई हटाएर कृष्णप्रसाद घिमिरेलाई नियन्त्रकको जिम्मेवारी दिइयो। परीक्षा वैशाख १५ बाट सुरु हुँदै थियो।

तर शर्माले १५ मै परीक्षा नियन्त्रकको हैसियतले कार्यालयमा हाजिर गरेका छन्। ‘प्रश्नपत्र छपाइमा उनै बसे, प्रश्नपत्र प्याकिङ पनि उनैले गरे,’ बोर्ड स्रोतले भन्यो, ‘जब परीक्षा सञ्चालन गर्न प्रश्नपत्र केन्द्राध्यक्षको जिम्मामा पुगेको थियो, त्यतिबेला नौटंकी गरेर जिम्मेवारीबाट हटेको बहाना गरियो, परीक्षा नसकिँदै फेरि जिम्मेवारीमा फर्किए।’ बोर्डले उत्तरपुस्तिकाको परीक्षण थालेको छ।

शर्मा छोरी परीक्षार्थी रहेको उत्तरपुस्तिका कोडिङलगायत परीक्षणको काममा संलग्न छन्। ‘बदमासी हुने भए उत्तरपुस्तिका छपाइ र परीक्षणका बेला हुने हो,’ परीक्षा नियन्त्रण कार्यालयका एकपूर्व नियन्त्रकले भने, ‘परीक्षाको दिनमा म बिदामा बसेको थिएँ, भनेर उम्कन मिल्दैन, संलग्न नहुने भए, प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्मै पदमा बस्न हुँदैन।’

शर्मा भने कक्षा १२ को प्रश्नपत्र छपाइ हुँदा नै जनक शिक्षा सामग्री केन्द्रको सुरक्षण प्रेसमा प्रवेश गरेका थिए। १२ कक्षाको प्रश्नपत्र प्याकिङलगायत काम उनकै नेतृत्वमा भएको हो। १५ गते अंग्रेजी विषयको परीक्षा थियो। उक्त दिन पनि उनले नियन्त्रकको हैसियतले बोर्डको हाजिरी कापीमा हस्ताक्षरसहित उपस्थिति जनाएका छन्।

१२ को परीक्षा वैशाख २८ मा सकिएको हो। शर्माले भने २६ गतेदेखि नै नियन्त्रकको हैसियतमा हाजिर गरेका छन्। ‘मर्यादा जोगाउने भए, परीक्षाको कुनै पनि गतिविधिमा संलग्न हुन मिल्दैन,’ शिक्षा मन्त्रालयका एक सहसचिवले भने, ‘परीक्षाका २/४ दिन बिदामा बसेर आचारसंहिता पालना गरें भन्न मिल्दैन।’ अध्यक्ष पौडेल र सदस्यसचिव शर्मासमेत यस विषयमा जवाफदेही हुनुपर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन्।

छोरी परीक्षार्थी भएका व्यक्तिलाई जिम्मेवारी दिनु र केही दिन हटाएको जस्तो गर्नु लापरबाहीको पराकाष्ठा भएको उनीहरूको तर्क छ। ‘यस्तोमा बोर्डले जिम्मेवारीमा बस्न दिनुहुँदैन, स्वयं पदमा बस्ने व्यक्तिले पनि आफ्नो आफन्त छ भने बस्नुहुँदैन,’ ती अधिकारीले कान्तिपुरसँग भने, ‘नैतिकता नभएपछि जे गरे पनि हुन्छ।’ शर्माले भने छोरीको परीक्षा भएकाले आफू संलग्न नभएको प्रतिक्रिया दिए। ‘छोरीले जाँच दिने भनेर आफैं ब्याक बसेको हुँ, जिम्मेवारीबाट हटाइएको होइन,’ उनले भने, ‘१२ को परीक्षा अवधिभर जिम्मेवारी लिइनँ, मैले नैतिकता देखाएको हो। बाध्यकारी कानुनी व्यवस्था होइन।’ प्रश्नपत्र छपाइ र प्याकिङका क्रममा छापाखानामा नगएको उनले दाबीसमेत गरे।

‘उत्तरपुस्तिका परीक्षाको जिम्मा बोर्डले उपनियन्त्रकलाई दिएको छ, मेरो कुनै हात हुँदैन,’ उनले भने। स्रोतका अनुसार परीक्षा नियन्क्रक नियुत्तिमा निजी विद्यालयहरूले मन्त्रालयदेखि उच्च राजनीतिक तहसम्म लबिइङ गर्छन्। आफ्नो कलेजको राम्रो नतिजा ल्याउन उत्तरपुस्तिका चिनजानको शिक्षकमार्फत परीक्षण गराउन चलखेल हुने बोर्डकै कर्मचारीहरू बताउँछन्। परीक्षामा बस्दा आउने भत्ता र निजी विद्यालयहरूले गर्ने चलखेलको लोभमा नियन्त्रक बन्न बोर्डभित्र प्रतिस्पर्धा हुने गर्छ।  यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);