तीन जना राजदुतको नाम सर्वसम्मतिले अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

तीन जना राजदुतको नाम सर्वसम्मतिले अनुमोदन

काठमाडौं, ८ माघ । संसदीय सुनुवाई विशेष समितिले तीन जना राजदुतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा क्यानडाका लागि प्रस्तावित राजदुत भृगु ढुंगाना, संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि तथा स्वीजरल्याण्डका लागि प्रस्तावित राजदुत मणिप्रसाद भट्टराई र कुवेतका लागि प्रस्तावित राजदुत दुर्गाप्रसाद भण्डारीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

तीनै जना राजदुतको नाम संसदीय सुनुवाई प्रक्रिया पूरा गरी सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । गत पुस ६ र ९ गते बसेको मन्त्रीपरिषद बैठकले ढुंगानालाई क्यानडा, भट्टराईलाई स्वीजरल्याण्ड र भण्डारीलाई कुवेतसहित ५ जनालाई राजदुतको रुपमा सिफारिस गरेको थियो ।

समितिको बैठकमा प्रस्तावित राजदुतहरुले आ–आफ्नो योग्यता, क्षमता र भावी कार्ययोजनाबारे जानकारी गराएका थिए । क्यानडाका लागि प्रस्तावित राजदुत भृगु ढुंगानाले जलवायु परिवर्तनको असर नेपालमा पर्न नदिन क्यानडा सरकारसँग आवश्यक बजेटको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले नेपालमा लगानी बढाउन पनि क्यानडा सरकारसँग पहल गर्ने योजना अघि सारे ।

संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधि तथा स्वीजरल्याण्डका लागि प्रस्तावित राजदुत मणिप्रसाद भट्टराईले संयुक्त राष्ट्र संघसँग आवद्ध संघ, संस्थाहरुसँग आवश्यक छलफल गरी नेपालको लागि आवश्यक सहयोग जुटाउन पहल गर्ने प्रतिवद्धता जनाए । उनले आप्रवासी नेपाली श्रमिकहरुको हितमा आफू लागिपर्ने योजना पनि समितिलाई जानकारी गराए।

कुवेतका लागि प्रस्तावित राजदुत दुर्गाप्रसाद भण्डारीले राष्ट्रको हितलाई केन्द्रमा राखेर कुवेतसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउन आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालमा कुवेतको लगानी भित्र्याउन पहल गर्ने योजना अघि सारे ।

समितिको गत माघ ३ गते बसेको बैठकले फ्रान्सका लागि प्रस्तावित राजदुत दिपक अधिकारी र थाईल्याण्डका लागि प्रस्तावित राजदुत गणेशप्रसाद ढकालको नाम पनि सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);