आइभरी कोस्ट र बोत्स्वानाले खानी, ऊर्जा, कृषि तथा व्यापार क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने सहमति गरेका छन् । आइभरी कोस्टका राष्ट्रपति अलासाने ओउटारा र बोत्स्वानाका राष्ट्रपति डुमा गिडियन बोकोबीच सोमवार आइभरी कोस्टको राजधानी आबिदजानमा भएको वार्तापछि यस्तो सहमति भएको हो । वार्तालाई फलदायी र मैत्रीपूर्ण भन्दै राष्ट्रपति ओउटाराले दुई देशबीच हाल भइरहेको व्यापारको स्तर उनीहरूको वास्तविक आर्थिक सम्भावनाअनुसार नरहेको बताए । उनले बोत्स्वानाको निजी क्षेत्रलाई आइभरी कोस्टमा लगानी बढाउन आग्रह गर्दै विशेषगरी खानी, पेट्रोलियम तथा ठूला विकास आयोजनामा लगानीका लागि आह्वान गरे । राष्ट्रपति ओउटाराले सन् २०२६ को जुलाईमा बोत्स्वानाको राजधानी गाबोरोनमा हस्ताक्षर भएको खानी, पेट्रोलियम तथा ऊर्जा क्षेत्रसम्बन्धी सहकार्य सम्झौताले दुई देशबीचको आर्थिक सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । आईतवारदेखि बुधवारसम्मको राजकीय भ्रमणमा रहेका बोत्स्वानाका राष्ट्रपति बोकोले प्राकृतिक तथा खनिज स्रोत, कृषि भूमि र युवा जनशक्तिको प्रभावकारी उपयोगमार्फत दुवै देशको अर्थतन्त्र विविधीकरण गर्नुपर्नेमा जोड दिए । यसैबीच, सोमबार दुवै देशबीच खानी, ऊर्जा, आर्थिक मामिला, कूटनीति तथा मानव र पशु स्वास्थ्यलगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति बोकोले मंगलवार आयोजना हुने आइभरी कोस्ट–बोत्स्वाना आर्थिक मञ्चमा सहभागी हुने कार्यक्रम छ । त्यस्तै, बुधवार आयोजना हुने अन्तर्राष्ट्रिय उत्खनन स्रोत तथा ऊर्जा प्रदर्शनीको उद्घाटन समारोहमा पनि उनी सहभागी हुनेछन् । उक्त प्रदर्शनीमा बोत्स्वानालाई अतिथि राष्ट्रका रूपमा आमन्त्रण गरिएको छ ।




