इरान र इराकबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षा सुदृढ गर्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

साउन ७ २०८३, शुक्रबार

इरान र इराकबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षा सुदृढ गर्ने सहमति

इरान र इराकले द्विपक्षीय सम्बन्ध विस्तार तथा क्षेत्रीय सुरक्षा सुदृढीकरणका लागि एक सम्झौता र तीनवटा समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । इरानको सरकारी समाचार एजेन्सी इर्नाका अनुसार बिहीवार तेहरानमा आयोजित एक विशेष समारोहका बीच यी सहमतिहरू भएका हुन् । इरानी राष्ट्रपति मसुद पेजेस्कियान र इराकी प्रधानमन्त्री अली अल–जैदीको उपस्थितिमा दुवै देशका उच्च अधिकारीहरूले ती दस्ताबेजमा हस्ताक्षर गरेका थिए। सम्झौतामा मालसामानको सडक ढुवानी, दुई देशबीच रेलवे निर्माण, तेहरान र बग्दादबीच सिस्टर सिटी सम्बन्ध स्थापना तथा सार्वजनिक प्रशासन, शिक्षा र मानव संशाधनका क्षेत्रमा सहकार्य गर्ने विषयहरू समेटिएका छन् । हस्ताक्षर कार्यक्रमपछि भएको भेटवार्तामा राष्ट्रपति पेजेस्कियान र प्रधानमन्त्री अल–जैदीले द्विपक्षीय सम्बन्धको प्रवद्र्धनले दुवै देशको स्थिरता, सुरक्षा र समृद्धिका साथै पश्चिम एशियाली क्षेत्रमा ऐक्यवद्धता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । इरानी राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, दुवै नेताले दुई देशबीचको गहिरो ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्धलाई रणनीतिक सहकार्य विस्तारको आधारभूत सम्पतीका रूपमा परिभाषित गरेका छन् । बैठकमा दुवै नेताले यसअघि भएका सम्झौताहरूको कार्यान्वयन प्रक्रियालाई तिब्रता दिने र राजनीतिक, आर्थिक, व्यापारिक, पारवहन तथा ऊर्जा क्षेत्रका साझा क्षमताहरूलाई सक्रिय बनाउन आह्वान गर्नुभयो ।
इराकी प्रधानमन्त्री अल–जैदीले इराक र इरानको सुरक्षा एक–अर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै आफ्नो भूमिबाट इरानको सुरक्षामा खतरा उत्पन्न हुने कुनैपनि गतिविधि हुन नदिने प्रतिवद्धता जनाउनु भयो । इस्लामिक स्टेट (आईएस) विरुद्धको युद्धमा इरानले पु¥याएको सहयोगको स्मरण गर्दै उहाँले विभिन्न क्षेत्रमा संयुक्त लगानीका लागि आग्रह गर्नुभयो ।
सो अवसरमा राष्ट्रपति पेजेस्कियानले सुरक्षा र स्थिरताले द्विपक्षीय विकासमा सकारात्मक योगदान पु¥याउने बताउँदै संयुक्त लगानीका ठूला अवसरहरू रहेको उल्लेख गर्नुभयो । दुई पक्षबीच इरान–इराक संयुक्त आर्थिक समिति’ को कार्यविधि स्थापना गर्ने विषयमा समेत छलफल भएको छ । राष्ट्रपति पेजेस्कियानको औपचारिक निमन्त्रणामा उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री अल–जैदी बिहीवार तेहरान पुग्नुभएको हो । गत मे महिनामा पदभार ग्रहण गरेयता अल–जैदीको यो दोस्रो विदेश भ्रमण हो । यसअघि उहाँले वासिङ्टनको भ्रमण गर्नुभएको थियो ।

Leave a Reply

ताजा समाचार