दशैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै छ ।खास गरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म नै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार अस्ति विजयादशमीको दिन मात्र दुर्गा देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने गरिन्छ । कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैँ सकिन्छ । यसैबीच आफन्तकहाँ आउजाउ गर्ने, घुमफिरमा निस्कने र गाउँबाट राजधानी फर्किनेहरूको चहलपहल बढ्न थालेको छ । कतिपय सर्वसाधारण नियमित काममा फर्किन थालेका छन् । उपत्यकाका सडकमा सवारीसाधनको चाप पनि बिस्तारै बढिरहेको छ । सडकमा बढ्दो आवागमनसँगै उपत्यकाको जनजीवन पनि विस्तारै सामान्य लयमा फर्किन थालेको छ ।




