आज बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाएर विजयादशमी मनाइँदै छ । | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ४ २०८३, बुधवार

आज बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाएर विजयादशमी मनाइँदै छ ।

काठमाडौं ।
विशेषगरी रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ । दशैँ घर वा पूजा कोठामा नवरात्रका नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान १० बजेर २६ मिनेटको साइत उत्तम रहेको जनाएको छ । पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । अर्थात्, टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ । साइत खोज्नेहरुका लागि १० बजेर २६ मिनेट उत्तम रहेपनि विजयादशमीको दिन दुर्गा विसर्जनपछि दिनभर टीका लगाउन सकिने जानकारहरु बताउछन् । घटस्थापना गरी जमरा राखेको ठाउँमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको थियो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन हो । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट टीका, जमरा र आशीर्वाद लिइन्छ । देशका धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म नै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । तर नेपालका केही भागमा भने कुल, परम्पराअनुसार आज एक दिन मात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । साथै केही जाति विशेषले दही र अक्षताका सेतो टीका पनि लगाउने गरेका छन् ।

Leave a Reply

ताजा समाचार