घानाका राष्ट्रपति जोन ड्रामानी महामाले अफ्रिकी महादेशमा विद्यमान विविध स्वास्थ्य चुनौतीहरू सम्बोधन गर्न अफ्रिकी नेताहरूलाई रूपान्तरणकारी दृष्टिकोण अपनाउन आग्रह गर्नुभएको छ । घानाको राजधानी अक्रामा आयोजित अफ्रिकी युनियन (एयू) सम्मेलनको २५ औँ असाधारण सत्रको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति महामाले स्वास्थ्य सेवा प्रवाहका परम्परागत शैलीभन्दा माथि उठेर नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार स्वास्थ्यका मुद्दाहरूमा गरिएका सामूहिक प्रयासहरूले सफलता प्राप्त गरिरहेका पर्याप्त सकारात्मक प्रमाणहरू अफ्रिकासँग छन् । तथ्याङ्क प्रश्तुत गर्दै राष्ट्रपति महामाले भन्नुभयो,‘विश्वभर एचआईभीसँग बाँचिरहेका करिव ४ करोड मानिसमध्ये दुई तिहाइ अफ्रिकी महादेशमै भएपनि यसबाट हुने मृत्युदरमा उल्लेख्य कमी आएको छ । उच्च जोखिमका समयको तुलनामा एड्सजन्य मृत्युदर झन्डै तीन चौथाइले गिरावट आउनु उत्साहजनक पक्ष हो ।’
यसैगरी, क्षयरोगको उच्च जोखिममा रहेका विश्वका ३० देशहरूमध्ये १७ वटा अफ्रिकामै भएपनि विगत एक दशकमा यसको संक्रमण दरमा २८ प्रतिशत र मृत्युदरमा ४६ प्रतिशतले कमी आएको उहाँले जानकारी दिनुभयो । अफ्रिकी नागरिकहरूलाई स्वास्थ्य समस्याको प्रभावबाट जोगाउन प्रयासहरूलाई थप सघन बनाउनुपर्ने समय आएको उल्लेख गर्दै महामाले अन्य गम्भीर चुनौतीहरूतर्फ पनि ध्यानाकर्षण गराउनु भयो ।
‘हाम्रा ९ करोडभन्दा बढी मानिस क्रोनिक हेपाटाइटिस बी वा सीबाट ग्रसित छन्, जसमध्ये अधिकांशमा रोगको पहिचान समेत हुन सकेको छैन । साथै, उपेक्षित उष्णकटिबन्धीय रोगहरूले हाम्रा मानिसहरूलाई अशक्त बनाउनुका साथै सामाजिक विभेदको सिकार बनाइरहेको छ ।’ उहाँले भन्नुभयो ।
राष्ट्रपति महामाले अफ्रिकी युनियनको यस सत्रमा गरिएका प्रतिवद्धताहरूलाई केवल औपचारिकतामा सिमित नगरी ठोस कार्य र मापनयोग्य समाधानका रूपमा कार्यान्वयन गर्न समेत आह्वान गर्नुभएको छ ।





