यमनको हुथी विद्रोही समूहले बिहीवार लाल सागरमा साउदी अरबका दुईवटा तेल ट्याङ्करमाथि सैन्य कारबाही गरेको दाबी गरेको छ । ती जहाजहरूले समूहद्वारा हालै घोषित समुद्री प्रतिवन्ध उल्लंघन गरेका कारण निशाना बनाइएको हुथीको भनाइ छ । हुथी सैन्य प्रवक्ता याह्या सारियाले समूहको अल–मसिराह टेलिभिजनमार्फत एक विज्ञप्ति जारी गर्दै एन्सेलिया र लैला’ नामक ट्याङ्करहरूमाथि ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्रका साथै ड्रोन प्रयोग गरी आक्रमण गरिएको जानकारी दिनुभयो । साउदी बन्दरगाहहरूमा जाने जहाजहरूमाथि समूहले लगाएको प्रतिवन्ध उल्लंघन गरेकाले उक्त कारबाही गरिएको सारियाले बताउनु भयो । उहाँले सो आक्रमणका कारण दुवै ट्याङ्करमा भीषण आगलागी भएको र सैन्य उद्देश्य सफलतापूर्वक हासिल भएको दाबी गर्नुभयो । यद्यपि, हुथी समूहले सो घटना घटेको यकिन स्थान र क्षतिबारे कुनै ठोस प्रमाण वा हताहतीको विवरण उपलब्ध गराएको छैन । हुथीको यस दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन र साउदी अधिकारीहरूले पनि यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । यसैबीच, युनाइटेड किंगडम म्यारिटाइम ट्रेड अपरेसनले साउदी अरबको अल शुकाइकबाट करिव ७० नटिकल माइल दक्षिण–पश्चिममा एक ट्याङ्करसँग सम्बन्धित घटनाको प्रतिवेदन प्राप्त भएको जनाएको छ । सामाजिक सञ्जाल एक्समा जारी रिपोर्टअनुसार जहाजका क्याप्टेनले एक अज्ञात वस्तु प्रहार भएको र त्यसपछि जहाजमा लागेको आगो निभाउने प्रयास भइरहेको जानकारी दिएका छन् । हुथी समूहले साउदी बन्दरगाहहरूसँग व्यापार गर्ने जहाजहरूलाई लक्षित गरी समुन्द्री प्रतिवन्ध विस्तार गरेको घोषणा गरेको दुई दिनपछि यो आक्रमण भएको हो । साना अन्तर्राष्ट्रिय विमानस्थलको निरन्तर बन्द र हुथी नियन्त्रित क्षेत्रहरूमा हवाई उडानमा साउदी अरबले लगाएको अवरोधको प्रतिक्रियास्वरूप यो कदम चालिएको समूहको आरोप छ । गाजा युद्ध शुरु भएयता हुथी समूहले इजरायल र अमेरिकासँग सम्बन्धित भनिएका जहाजहरूमाथि निरन्तर क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा ढुवानीका लागि महत्वपूर्ण मार्ग मानिने लाल सागरमा व्यावसायिक जहाजहरूले आफ्नो मार्ग परिवर्तन गर्न बाध्य भएका छन् । यमनमा सन् २०१४ को अन्त्यदेखि गृहयुद्ध जारी छ । हुथी समूहले राजधानी सानासहित उत्तरी यमनका अधिकांश भाग कब्जा गरेपछि सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले यमन सरकारको समर्थनमा सैन्य हस्तक्षेप गरेको थियो । सन् २०२२ मा संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको युद्धविरामपछि केही शान्त रहेको यस क्षेत्रमा पछिल्लो घटनाले पुनः तनाव बढ्ने र व्यावसायिक जलयात्रामा जोखिम थपिने चिन्ता उत्पन्न गरेको छ ।




