यमनको विद्रोही समूह हुथीले सोमवार लाल सागरमा रहेको एक साउदी तेल ट्याङ्करमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । समूहले साउदी अरेबियासँगको सीमा नजिक साउदी सैन्य बल र एउटा कन्भोयमाथि पनि छुट्टाछुट्टै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको जनाएको छ । हुथी सैन्य प्रवक्ता याह्या सारियाले समूहको आधिकारिक टेलिभिजन च्यानल ‘अल–मसिराह’ मार्फत जारी गरेको विज्ञप्तिअनुसार ‘अमजान’ नामक साउदी ट्याङ्करलाई उत्तरी लाल सागरमा प्रहार गरिएको थियो । प्रवक्ता सारियाले सो आक्रमण ‘सटिक र प्रत्यक्ष’ भएको र त्यसका कारण जहाजमा आगलागी भएको दाबी गरेका छन् । उनले आक्रमणपछि त्यस क्षेत्रमा रहेका अन्य जहाजहरू सुरक्षित स्थानतर्फ लागेको समेत उल्लेख गरे । उनकाअनुसार यो आक्रमण साउदी जल यातायातमाथि लगाइएको प्रतिवन्धको हिस्सा हो, जसलाई समूहले ‘नाकाबन्दीको बदलामा नाकाबन्दी’ को नीतिका रूपमा व्याख्या गरेको छ । यसअघि सोमवार युनाइटेड किंगडम म्यारिटाइम ट्रेड अपरेसनले यान्बु शहरबाट करिव ६३ नटिकल माइल पश्चिममा एउटा ट्याङ्करमा ‘अज्ञात वस्तु’ ले प्रहार गरेको जानकारी दिएको थियो । यद्यपि उसले जहाजको पहिचान खुलाएको छैन र आक्रमणको जिम्मेवारी कसैलाई तोकेको छैन ।
सारियाले यमनको दक्षिण–पूर्वी तेल सम्पन्न प्रान्त हद्रामौतमा साउदी सैन्य कन्भोयलाई लक्षित गरी आक्रमण गरिएको दाबी समेत गरे । साउदी सीमाबाट यमन प्रवेश गरेका हतियार बोकेका १० भन्दा बढी सैन्य ट्रकहरू ध्वस्त पारिएको वा जलाइएको हुथीको दाबी छ । यसैगरी, उत्तरी अल–जौफ प्रान्तमा साउदी सेनाको उपस्थितिलाई लक्षित गरी गरिएको अर्को कारबाहीमा कमान्डर र अधिकारीसहित दर्जनौँको मृत्यु वा घाइते भएको र हतियार भण्डारहरू नष्ट गरिएको प्रवक्ता सारियाले बताए । यी दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन र साउदी अधिकारीहरूले पनि यस विषयमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।
गत जुलाई २० मा हुथी समूहले साउदीसँग सम्बन्धित सामुन्द्रिक यातायातमा प्रतिवन्धको घोषणा गरेयता यस क्षेत्रमा तनाव थप बढेको छ । पछिल्लो समय यमन सरकार र हुथी विद्रोहीबिच एक–अर्काका नियन्त्रित क्षेत्रहरूमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण तीव्र पारिएका छन् ।
सन् २०१४ को अन्त्यतिर हुथी समूहले राजधानी साना कब्जा गरेसँगै यमन गृहयुद्धमा फसेको थियो । त्यसको एक वर्षपछि साउदी नेतृत्वको सैन्य गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको समर्थनमा त्यहाँ सैन्य हस्तक्षेप शुरु गरेको थियो, जुन द्वन्द्व अझै जारी छ ।




