संयुक्त राष्ट्रसंघको महासभा सत्रको अवसरमा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र इरानी राष्ट्रपति मसूद पेजेस्कियानबीच न्यूयोर्कमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । उक्त भेटमा दुई छिमेकी मुलुकका शिर्ष नेताहरूले आपसी ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने र तनावग्रस्त क्षेत्रीय परिदृश्यमा शान्ति तथा कुटनीतिक संवादलाई प्राथमिकता दिने दृढ प्रतिवद्धता व्यक्त गरेका छन् । दुई देशबीचको रणनीतिक तथा मैत्रीपूर्ण साझेदारीलाई थप गति दिने उद्देश्यले आयोजित सो साइडलाइन बैठकमा क्षेत्रीय सुरक्षा र आपसी हितका साझा विषयहरूमा गहन समीक्षा भएको पाकिस्तानको प्रधानमन्त्री कार्यालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा जनाइएको छ । भेटवार्ताका क्रममा नेताहरूले पाकिस्तान र इरानबीचको परम्परागत सम्बन्धको समीक्षा गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । वार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री सरिफले पश्चिम एशिया तथा आसपासका क्षेत्रमा लम्बिएको द्वन्द्वप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले दिगो शान्ति र स्थिरता सुनिश्चित गर्न सबै पक्षले संयम अपनाउनुपर्ने, तनाव न्युनिकरण गर्नुपर्ने र निरन्तर कुटनीतिक संवादमा जोड दिनुपर्ने धारणा राख्नुभयो । प्रधानमन्त्री सरिफले यसअघि सम्पन्न ‘इस्लामाबाद समझदारी पत्र’ को प्रभावकारी कार्यान्वयनमा जोड दिँदै क्षेत्रीय शान्तिको पक्षमा पाकिस्तान सधैं रचनात्मक र निष्ठावान भुमिका निर्वाह गर्न तयार रहेको स्पष्ट पार्नुभयो । त्यस्तै, इरानी राष्ट्रपति मसूद पेजेस्कियानले क्षेत्रीय शान्ति, सुरक्षा र स्थिरता प्रवद्र्धनका लागि पाकिस्तानले देखाएको कूटनीतिक सक्रियताको स्वागत तथा प्रशंसा गर्नुभयो । उहाँले इरान पाकिस्तानसँगको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउन कटिवद्ध रहेको उल्लेख गर्नुभयो । राष्ट्रपति पेजेस्कियानले दुई छिमेकी राष्ट्रहरूको सम्बन्ध साझा इतिहास, संस्कृति र धार्मिक आस्थाको मजबुत जगमा अडिएको स्मरण गराउनु भयो । छलफलको अन्त्यमा दुवै नेताहरू जटिल क्षेत्रीय चुनौतीहरूको सामना गर्न द्विपक्षीय परामर्शलाई निरन्तरता दिन र साझा हित, समृद्धि तथा सुरक्षाका लागि उच्चस्तरीय समन्वय कायम राख्न सहमत भएका छन् ।




