टर्कीले आगामी पाँच वर्षभित्र ५० लाख र दश वर्षभित्र १ करोड मानवरहित हवाई सवारी साधन (युएभी÷ड्रोन) उत्पादन गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । ‘डेनिजकुर्डु–२०२६’ सैन्य अभ्यासका क्रममा टर्कीका चिफ अफ जनरल स्टाफ सेल्चुक बायरक्तारोग्लुले देशको रक्षा उद्योगको उत्पादन क्षमताले यो लक्ष्य हासिल गर्न सक्षम रहेको बताउनुभएको हो । हालै सम्पन्न ‘डेनिजकुर्डु–२०२६’ सैन्य अभ्यासमा बोल्दै जनरल बायरक्तारोग्लुले आधुनिक युद्धमा मानवरहित प्रणालीको भुमिका भविष्यमा अझ निर्णायक हुने स्पष्ट पार्नुभयो । उहाँकाअनुसार टर्कीले समुन्द्रमा मानवसहित र मानवरहित दुवै प्रणालीको समन्वयात्मक प्रयोगलाई उच्च प्राथमिकता दिँदै आएको छ । टर्कीको रक्षा उद्योग पछिल्ला वर्षहरूमा ड्रोन प्रविधिमा विश्वमै उदाउँदो शक्तिका रूपमा देखिएको छ । बायरक्तारोग्लुकाअनुसार विद्यमान औद्योगिक पूर्वाधार र प्राविधिक दक्षताले तोकिएको समयसीमाभित्र नै यो विशाल उत्पादन लक्ष्य भेट्टाउन मद्दत गर्नेछ ।
यसैबीच, आईतवारदेखि शुक्रबारसम्म सञ्चालन भएको ‘डेनिजकुर्डु–२०२६’ अभ्यास कालो सागर, मारमारा सागर, एजियन सागर र पूर्वी भूमध्यसागरमा केन्द्रित थियो । यस अभ्यासमा करिब १४ हजार सैन्य जनशक्ति, एक सयवटा जलसैनिक जहाज र ५० वटा विमानहरूले सहभागिता जनाएका थिए । समुन्द्री सुरक्षा र आधुनिक प्रविधिको प्रयोगलाई परीक्षण गर्ने उद्देश्यले गरिएको यो अभ्यासमा ड्रोन प्रविधिको भुमिकालाई निकै महत्त्वका साथ हेरिएको छ । रक्षा विश्लेषकहरूका अनुसार, टर्कीको यो घोषणाले विश्वव्यापी हतियार बजारमा ड्रोनको माग र आपूर्तिमा टर्कीको प्रभावलाई थप विस्तार गर्नेछ ।




