टर्कीको ब्ल्याक सीस्थित तटीय शहर सामसुनमा शनिवार एउटा ड्रोन दुर्घटनाग्रस्त भएको छ । टर्कीको समाचारपत्र सोजकुकाअनुसार उक्त दुर्घटनामा दुईवटा भवनमा भौतिक क्षति पुगेको छ भने कुनै मानवीय क्षति भएको छैन । सामसुनको इल्कादिम जिल्लास्थित काजिम कराबेकिर टोलमा उक्त घटना भएको हो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी, दमकल र स्वास्थ्य टोलीहरू घटनास्थलमा परिचालन गरिएका थिए । प्रारम्भिक अनुसन्धानबाट दुर्घटनाग्रस्त वस्तु करिव एक मिटर लामो पखेटा र पुच्छर भएको मानवरहित विमान (यूएभी) रहेको पहिचान भएको छ । उक्त ड्रोन कसले र कुन उद्देश्यका लागि सञ्चालन गरेको हो भन्नेबारे प्रहरीले उच्च शतर्कताका साथ अनुसन्धान अघि बढाएको छ । रुस–युक्रेन द्वन्द्वका कारण सिर्जित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै टर्कीले पछिल्लो समय ब्ल्याक सी क्षेत्रमा आफ्नो ड्रोन निगरानी र रक्षा प्रणालीलाई सुदृढ बनाएको छ । टर्कीको सेनाले यस क्षेत्रमा हवाई र सामुन्द्रिक गस्तीलाई तिब्र बनाउँदै कृष्ण सागरबाट आउने अनधिकृत ड्रोनहरूमाथि कडा निगरानी राख्दै आएको छ ।




