टर्कीले काला सागरमा आफ्ना कम्पनीहरूको स्वामित्वमा रहेका दुईवटा व्यापारिक जहाजहरूमाथि भएको ड्रोन आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । रुस र युक्रेनबीच जारी द्वन्द्वको बढ्दो प्रभावले नागरिक जहाजहरूको आवागमन र क्षेत्रीय स्थिरतालाई नै खतरामा पारेको टर्कीले चेतावनी दिएको छ । टर्कीको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार रुसको नोवोरोसिस्क बन्दरगाहबाट प्रस्थान गरेका यासार र नादेज्दा नामक व्यापारिक जहाजहरूमाथि सोमबार मानवरहित हवाई वाहन (ड्रोन) मार्फत आक्रमण गरिएको थियो । उक्त घटनामा टर्कीका नागरिकसहित चालक दलका केही सदस्यहरू घाइते भएको मन्त्रालयले जनाएको छ । टर्कीका अधिकारीहरूले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे नजिकबाट अनुगमन गरिरहेको र सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको बताइएको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रुस र युक्रेनबीचको युद्ध काला सागरमा अझ फैलिँदै गएको र यसले नागरिक जहाजहरूलाई समेत असर पु¥याएकोमा हामी गम्भीर रूपमा चिन्तित छौँ ।’
टर्कीले समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न र नागरिक जहाजहरूमाथि हुने थप आक्रमणहरू रोक्न रुस र युक्रेन लगायतका संवद्ध पक्षहरूलाई ठोस कदम चाल्न आग्रह गरेको छ ।




