कविना बलामी,काठमाडौ । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभर क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्।
भक्तपुरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाइओभरको भित्तामा ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटनामा करिब ४० वर्षीया एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




