नेपाल–बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्यो  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल–बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्यो 

Nepal_Bangaladesh

काठमाडौं । नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा दुई देशका राष्ट्रपति र प्रधानमन्त्रीबीच बधाई सन्देश आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई सन्दै पठाउँदै बधाई दिएकी छन् ।

राष्ट्रपतिले सन्देशमा पाँच दशकअघि बंगलादेशको स्वतन्त्रतालाई मान्यता दिने पहिलो राष्ट्रमध्ये नेपाल रहेको स्मरण गर्दै व्यापार, पर्यटन, ऊर्जा, संस्कृति र शिक्षाका क्षेत्रमा बढ्दै गएको सहयोगप्रति सन्तुष्टी व्यक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई बधाई सन्देश पठाएका छन् ।

बंगलादेशका प्रधानमन्त्रीलाई हार्दिक बधाई दिँदै प्रधानमन्त्री देउवाले नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेकोमा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले नेपाल र बंगलादेशले व्यापार, पर्यटन, ऊर्जा र कनेक्टिभिटी लगायतका क्षेत्रमा सहकार्य र साझेदारीलाई अगाडि बढाउँदै पारस्परिक हितका नयाँ र प्रशस्त सम्भावनाहरू प्रशस्त गरेको जनाएका छन् ।

नेपाल र बंगलादेशले जलवायु परिवर्तन, दिगो विकास, बहुपक्षीय व्यापारलगायत पारस्परिक हितका विषयमा सार्क, बिमस्टेक र बीबीआईएन जस्ता क्षेत्रीय मञ्चहरू र संयुक्त राष्ट्रसंघ र विश्व व्यापार संगठन जस्ता बहुपक्षीय मञ्चहरूमा सहकार्यका गरिरहेको पनि उनले बताएका छन् । यस्तै, बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बधाई सन्देशमा दुई देशबीच बढ्दो व्यापार र आर्थिक सम्बन्धप्रति सन्तोष व्यक्त गरेका छन् ।

बंगलादेशका राष्ट्रपतिले दुई देशबीच निकै घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै सन् २०१९ मा गरेको नेपाल भ्रमणको स्मरण गरेका छन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो बधाई सन्देशमा नेपालले बंगलादेशलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा सुरुमै मान्यता दिएको स्मरण गरेकी छन् । उनले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेपाल र बंगलादेशले ८ अप्रिल १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);