सहकार्यमा ओलीका ६ सूत्र | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

सहकार्यमा ओलीका ६ सूत्र

pm kp oli

काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच साझा विकास, शान्ति तथा समृद्धिका लागि सहकार्य गर्न सक्ने ६ वटा सूत्र सुझाएका छन्। चीन भ्रमणको पहिलो दिन मंगलबार बेइजिङमा नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यातायात तथा कनेक्टिभिटी, पर्यटन तथा संस्कृति, व्यापार तथा लगानी, कृषि, उद्योग तथा प्रविधि स्थानान्तरण, मानव क्षमताको प्रयोग र प्राकृतिक स्रोत तथा वातावरण गरी ६ मुख्य क्षेत्रमा चीनसँग सहकार्य गर्न सकिने बताएका हुन्।

‘आपसी विश्वास, मित्रता र समझदारकिा आधारमा नेपाल र चीनले भविष्यमा साझा विकास र शान्ति तथा समृद्धि प्राप्तिका लागि सहकार्य गर्नेछन्,’ चीनसँग सहकार्य गर्न सकिने महत्वपूर्ण ६ क्षेत्रको किटान गर्दै प्रधानमन्त्री ओलीले भने। यी ६ वटा क्षेत्र नेपाल–चीन सम्बन्धका महत्वपूर्ण खम्बा भएको उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीच यातायात तथा कनेक्टिभिटी, पर्यटन तथा संस्कृति, व्यापार तथा लगानी, कृषि, उद्योग तथा प्रविधि स्थानान्तरण, मानव क्षमताको प्रयोग र प्राकृतिक स्रोत तथा वातावरण क्षेत्रमा सहकार्य गर्न सकिने सूत्र पेस गरेका छन्।
प्रधानमन्त्री ओली ६ दिने चीनको औपचारिक भ्रमणको सिलसिलामा मंगलबार बेइजिङ पुगेका हुन्। नेपाली ध्वजावहाक नेपाल एयरलाइन्सको विमान छोडी एक सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिमालय एयरलाइन्सको विमानमा बेइजिङ पुगेका उनले त्यहाँ चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट र समकक्षी ली खछ्याङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीका रुपमा यो उनको दोस्रो चीन भ्रमण हो। यसअघि प्रधानमन्त्रीका रुपमा २०७२ सालमा चीनको भ्रमण गर्दा उनले पारवहन तथा यातायात लगायतका महत्वपूर्ण सम्झौता गरेका थिए।

ओलीले ६ सूत्रमध्ये पहिलो ‘यातायात तथा कनेक्टिभिटी’ को व्याख्या गर्दै यातायात प्रविधिको क्षेत्रमा पछिल्ला दिनमा भएको विकासले वर्तमान समाजमा महत्वपूर्ण परिवर्तन ल्याएको दाबी गरे। ‘विकसित होस् वा विकासोन्मुख अवस्था, यातायात अर्थतन्त्रको मेरुदण्ड हो। खासगरी यातायात र सञ्चार क्षेत्रको पूर्वाधार विकासबिना सामाजिक–आर्थिक रुपान्तरण गर्न असम्भव हुन्छ,’ प्रधानमन्त्री ओलीले भने।

नेपाल सरकारले नेपालभित्र र सीमा क्षेत्रमा यातायात नेटवर्क विकासलाई उच्च प्राथमिकता दिएको ओलीले बताए। नेपालजस्तो भूपेरिवेष्टित देशका लागि रेलसेवा सबैभन्दा महत्वपूर्ण हुने दाबी उनले गरे। रेलसेवाले यातायात खर्च कम गर्ने, अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनलाई विविधीकरण गर्ने र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उनले बताए। ‘कनेक्टिभिटी र व्यापारको महथत्व बुझेर नै २०७२ मा पहिलोपटक चीन भ्रमण गर्दा नेपाल र चीनबीच रेल नेटवर्क विकास गर्न सहमत भएका थियौं। हामी यो महत्वपूर्ण प्रयासलाई अघि बढाउँदै अन्तरदेशीय रेलवे पूर्वाधार विकास गरी नेपाल–चीन मित्रता तथा द्विपक्षीय सहयोगलाई नयाँ युगमा प्रवेश गराउन प्रतिबद्ध छौं,’ उनले भने।

नेपाल र चीन सडक, हवाई, सञ्चार र ऊर्जा क्षेत्रमा बहुआयमिक कनेक्टिभिटी नेटवर्क विकास गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले बताए। यस्तो कनेक्टिभिटीले नेपालको अर्थतन्त्रलाई चीनसँग जोड्ने दाबी उनको थियो। उत्तर–दक्षिण कोरिडोर, अन्तरदेशीय प्रसारण लाइन, हवाई र दूरसञ्चार कनेक्टिभिटीबाट नेपाली जनताले ठूलो फाइदा लिन सक्ने पनि प्रधानमन्त्री ओलीले बताए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्राचीन सम्भयता र संस्कृतिले सुसज्जित देश भएको बताए। नेपाललाई उनले पृथ्वीको स्वर्गको संज्ञा दिए। ‘सांस्कृतिक विविधता, प्राकृतिक सौन्दर्य र साहसी पर्यटनका दृष्टिले नेपाल विश्वकै आकर्षक राष्ट्रमध्ये पर्छ। चीन विश्वभरका लागि पर्यटकको स्रोतका रुपमा देखिएको छ। हामीले प्रभावकारी कनेक्टिभिटीको विकास गर्ने हो भने पर्यटन क्षेत्रमा चीनबाट धेरै फाइदा लिन सक्छौं। चीनले पनि सेवा प्रदायक क्षेत्रमा लगानी गरेर नेपालबाट फाइदा लिनसक्छ,’ प्रधानमन्त्री ओलीले भने।

उनले नेपाल र चीनले प्राचीन सिल्क रोडबाट विगतमा धेरै फाइदा लिएको स्मरण गरे। प्राचीन समयमा चीन र दक्षिण एसिया जोड्न नेपालले चलायमान व्यापारिक कोरिडोरका रुपमा काम गरेको समेत उनले बताए। अर्थतन्त्र र आपसी हितलाई थप प्रवद्र्धन गर्न नेपाल र चीन दुवै देशले दक्षिणी सिल्क रोडलाई पुनः चलायमान बनाउनुपर्ने ओलीको सुझाव थियो।

नेपाल–चीन सहयोगको क्षेत्रमा प्रविधि स्थानान्तरणमार्फत कृषि र औद्योगिक क्षेत्रको विकास महत्वपूर्ण रहने उनले बताए। यसले युवालाई रोजगारी प्रदान गर्ने र दुर्गम क्षेत्रको विकासमा सघाउने उनको विश्वास छ। प्रधानमन्त्री ओलीले नेपाली कामदारको इमानदारी र सिर्जनशीलतालाई विश्वले रुचाएको जनाउँदै यस्ता कामदारको क्षमतालाई उपयोग गर्न आवश्यक रहेको औंल्याए।

नेपाल जलस्रोत, जडिबुटी, प्रतिकूल हावापानी र प्राकृतिक विविधताका दृष्टिले असाध्यै धनी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले साझा हितका लागि यी क्षेत्रको उपयोग गर्न सकिने बताए। आफ्नै प्रयोगको लागि ‘क्लिन इनर्जी’ को विकास र बढी हुने ऊर्जाको सम्भावित आदानप्रदान नेपाल–चीन सहयोगको क्षेत्रको महत्वपूर्ण पाटो हुने उनले जनाए। उनले नेपालको उर्जा क्षेत्रमा लगानी गरी फाइदा लिन चिनियाँ उद्यमीलाई आग्रह पनि गरे।

प्रधानमन्त्री ओलीले आफू ठूलो विश्वासका साथ चीन आएको बताए। नयाँ युगलाई सुहाँउदो नेपाल–चीन सम्बन्धको नयाँ भिजनलाई लिएर आफु चीन आएको दाबी उनले गरे। लामो राजनीतिक संक्रमण अन्त गर्दै नेपाल नयाँ युगमा प्रवेश गरेको समेत उनले बताए।

चीन भ्रमणको दोस्रो दिन बुधबार प्रधानमन्त्री ओलीले व्यापारिक समुदाय र थिंक ट्याङ्कसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। अन्तरक्रियामा दुवै देशका व्यापारिक समुदाय सहभागी हुनेछन्। बुधबार नै दुवै देशका व्यापारिक समुदायले आयोजना गर्ने अन्तरक्रियामा निजी क्षेत्रबीच सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुनेछ। ऊर्जा र कृषि क्षेत्रमा दुई देशका निजी क्षेत्रबीच सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। बुधबार नै प्रधानमन्त्री ओलीले बेइजिङस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्।

प्रधानमन्त्री ओली बिहीबार बेइजिङमा आयोजना गरिने ‘भिजिट नेपाल २०२०’ दौड कार्यक्रममा सहभागी हुनेछन्। ‘नेपाल–चाइना फ्रेन्डसिप रनिङ’ नाम दिइएको उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री ओलीले गर्नेछन्। सोही दिन नेपाल–चीनबीच द्विपक्षीय बैठक हुनेछ। बैठकअघि दुई देशका प्रधानमन्त्रीले भेटवार्ता गर्ने कार्यक्रम छ। वार्तामा केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुनेछ। असार ७ गते नै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नेछन्। सोही दिन एसियन इन्फास्टक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी) का अध्यक्षले पनि प्रधानमन्त्री ओलीसँग भेट गर्ने कार्यक्रम छ।

असार ८ गते प्रधानमन्त्री ओली चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासातर्फ प्रस्थान गर्नेछन्। त्यहाँ उनले तिब्बतका नेताहरुसँग कुराकानी गर्ने जनाइएको छ। तिब्बतका केही स्थानको अवलोकन गरी प्रधानमन्त्री ओली असार १० गते स्वदेश फर्कनेछन्। आजको नागरिक दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);