‘आर्थिक समृद्धिका लागि चीनसँग साझेदारी’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

‘आर्थिक समृद्धिका लागि चीनसँग साझेदारी’

pradip chaina

काठमाडौं, ७ बैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ५ फरक क्षेत्रमा चीनसँग आर्थिक समृद्धिका लागि साझेदारी गर्न सकिने औंल्याएका छन् । उनले यातायात र कनेक्टिभिटी, कृषि उद्योग प्रविधिको प्रयोग, जनशक्तिको उपयोग, पर्यटन र व्यापारको क्षेत्रमा चीनसँग सहकार्य गरेर नेपालले तीव्र आर्थिक विकास गर्न सकिने बताए । परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वानसमेत गरेका छन् ।
६ दिने चीन भ्रमणमा रहेका ज्ञवालीले बिहीबार बेइजिङस्थित चाइना रिफम फोरममा आयोजित २१औ शताब्दीमा नेपाल–चीन सम्बन्ध र बीआरआई थिङ्क ट्यांक सेमिनारलाई सम्बोधन गर्दै नेपालले आर्थिक उदारीकरणको नीति लिएको जानकारी गराए । ‘नेपाल भर्जिन ल्यान्ड छ, नेपालमा लगानीको अवसरलाई फाइदा लिन सक्नुहुनेछ, सरकार सहयोग गर्न तयार छ,’ उनले भने, ‘ऊर्जा, जलविद्युत्, कृषि तथा पर्यटनको क्षेत्रमा चिनियाँ लगानीलाई प्रोत्साहन गर्नुपर्छ भन्ने दुवै सरकारको धारणा छ, यसले नेपालको तीव्र आर्थिक विकासमा सहयोग पुग्छ ।’

सेमिनारमा नेपालको समृद्धिका लागि साझेदारीका पाँच क्षेत्र रहेको उद्घोष गरे । उनले भने, ‘नेपाल–चीनबीचको मैत्री सम्बन्धमा पाँचवटा सम्भावना छन् ।’उनले प्राचीन सिल्क रोड बेल्टको महत्वपूर्ण हिस्सालाई विगतमा जस्तै आर्थिक क्षेत्रको रूपमा फाइदा लिएको र बीआरआईबाट पनि फाइदालिने बताए । ‘चीनका राष्ट्रपति सी जिङपिङले अघि सारेको बीआरआईबाट नेपालले ठूलो आशा गरेको छ,’ उनले भने ।

यातायात अन्तरसञ्जाल अन्तर्गत रेलमार्ग, सडक र हवाई सेवामार्फत दुई देशलाई आपसमा घनिष्ट बनाउन सकिने बताउँदै ज्ञवालीले नेपालका कृषि, पूर्वाधार विकास र सेवा क्षेत्रमा चिनियाँ लगानीको महत्वपूर्ण भूमिका औंल्याएका थिए । उनले नेपालमा ऊर्जावान् पाखुरा चलाउन सक्ने जनशक्ति रहेकाले विकासको व्यापक सम्भावना रहेको भन्दै चीनसँग मिलेर युवाको सशक्तीकरणमा भूमिका खेल्न सकिने सम्भावनाको चर्चा गरेका थिए ।

नेपालको पर्यटन र जलविद्युत्लगायतको क्षेत्रमा चिनियाँ पुँजी र प्रविधि भित्तयाउन सके दुवै देशलाई हित हुने बताउँदै मन्त्री ज्ञवालीले भने, ‘व्यापार, लगानी र बीआरआईमार्फत नेपाल र चीनको सम्बन्ध अझ घनिष्ट हुनेछ ।’ सो गोष्ठीमा चिनियाँ रिफम फोरमका कार्यकारी निर्देशक प्रोफेसर मा च्याली, नेपालका लागि पूर्वचिनियाँ राजदूत ली तप्याबो, विज्ञहरू तिङ युआनहोङ, वाङ हइफङ रहेका थिए । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले पनि नेपाल चीन सम्बन्धमा आफ्नो विचार व्यक्त गरेका थिए ।

चीनका लागि नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सको संयुक्त आयोजनामा भएको नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रमलाई समेत ज्ञवालीले बिहीबार दिउँसो पैचिङमा सम्बोधन गरेका थिए । सो कार्यक्रममा एयर चाइनालगायत दुई देशका पर्यटन व्यवसायीका प्रतिनिधिहरूको सहभागिता थियो । प्रवद्र्धन कार्यक्रममा नेपाल पर्यटन बोर्डका अधिकारीले नेपालको पर्यटन स्रोतबारे जानकारी गराएका थिए । आजको राजधानी दैनिकमा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);