२६ महिनापछि पदाधिकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

२६ महिनापछि पदाधिकारी

nepali congress

काठमाडौं, २२ बैशाख । १३औं महाधिवेशन सम्पन्न भएको २६ महिनापछि नेपाली कांग्रेसले पार्टीको रिक्त पदाधिकारी चयन गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरूको विरोधलाई बेवास्ता गर्दै सभापति देउवाको प्रस्तावमा केन्द्रीय समिति बैठकको बहुमतले पदाधिकारी चयन गरेको हो ।

देउवाले आफ्ना खेमाका नेतालाई मात्र समेटेर केन्द्रीय समिति बैठकमा पदाधिकारी प्रस्ताव गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलासहितका संस्थापनइतरका नेताहरू असन्तुष्टी पोखेका छन् ।

देउवाले उपसभापतिमा पूर्वमहामन्त्री विमलेन्द्र निधि, महामन्त्रीमा पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महत चयन भएका छन् । देउवाको पदाधिकारी मनोनयन प्रस्तावलाई शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पारित गरेको हो ।

कांग्रेस विधानको धारा २१ (घ) तथा नियमावली २०६८ को नियम १२ (१) बमोजिम केन्द्रीय समितिका बैठकले रिक्त पदाधिकारी चयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पदाधिकारी चयन हुँदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरू भने बैठकबाट बाहिरिएका थिए । पौडेल पक्षीय नेता प्रकाशमान सिंहले पदाधिकारी प्रस्ताव पार्टीको विधानविपरीत भएकाले बैठक बहिष्कार गरेको बताए ।

‘नेतृत्वले बहुमतको दम्भ देखाएर विधानविपरीत पदाधिकारी प्रस्ताव गरेको छ, निरंकुश तरिकाबाट पार्टी चल्दैन । विधानविपरीत जे गरिएको छ, त्यो आपत्तिपूर्ण छ,’ बैठकबाट बाहिरिँदै नेता सिंहले भने ।

महाधिवेशनमा पौडेल पक्षबाट निर्वाचन लडेका महामन्त्री शशांक कोइराला भने निर्णय प्रक्रियाको अन्तिमसम्म बैठकमा सहभागी भए । निर्वाचन समीक्षा बैठक सकिएलगत्तै १७ वैशाखका लागि बोलाइएको बैठक पौडेल—सिटौला पक्षको बहिष्कार चेतावनी पछि कोइरालाकै पहलमा शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो । पौडेल समूहले पार्टीको विधानमा दुई महिनाभित्र पदाधिकारी मनोनयन गर्ने व्यवस्था रहेको भन्दै विधानविपरीत पदाधिकारी प्रस्ताव गर्न रोक्दै आएका थिए ।

कांग्रेस विधानको दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वाचित हुन्छन् । बाँकी सभापतिको प्रस्तावमा मनोनयन गर्ने प्रावधान छ । विधानमा पार्टी सभापतिले निर्वाचित केन्द्रीय सदस्यहरूबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित बाँकी सदस्य मनोनयन गर्ने व्यवस्था छ ।

यो खबर आजको राजधानीमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);