अघि बढे देउवा , पदाधिकारी छिट्टै तोकिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अघि बढे देउवा , पदाधिकारी छिट्टै तोकिने

deuba

काठमाडौं, २६ चैत । संसदीय दलको नेतामा भारी मतसहित विजयी भएका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा रिक्त पदाधिकारी मनोनयनका लागि तयारी अघि बढाएका छन् । तीनै तहको निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि आलोचना जारी रहँदाकै बीच पार्टीभित्रको आन्तरिक निर्वाचनमा बलियो बनेका देउवा केन्द्रीय समितिमा समीक्षा जारी रहेकै मौका पारेर पार्टीको रिक्त पदहरूमा भर्पाइको तयारीमा जुटेका हुन् ।

सभापति निकट केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार ३ वैशाखदेखि पुनः सुरु हुने स्थगित केन्द्रीय समितिको बीचमा नै पदाधिकारी मनोनीत गर्ने र केन्द्रीय समितिबाट त्यसलाई अनुमोदन गर्ने देउवाको तयारी छ ।

आफ्नै समूहका भनिएका धेरै नेता आकांक्षी भएपछि देउवाले १३औं महाधिवेशन सकिएको २६ महिना बित्दासम्म पनि केन्द्रीय समितिलाई पूर्णता दिन सकेका छैनन् । यसपटक भने उनले संसदीय दलको निर्वाचन समेत सकिएको र आफूलाई सहयोग गरेकाहरूको सूची नै बनाएर जिम्मेवारी सुम्पिने तयारी गरेका हुन् । उनले केन्द्रीय समितिमा सो सूचीलाई ल्याउने र बैठकबाटै टुंगो लगाउने बुझिएको छ ।

पार्टीभित्र रिक्त पदाधिकारीसहित केन्द्रीय सदस्य र बाँकी अन्य निकाय गठन गर्न ढिला हुँदा सभापति देउवाको पार्टीभित्र चर्काे आलोचना हुने गरेको छ । कांग्रेस विधानको धारा ४९ को उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबै तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ । तर, यस बैठकमा केन्द्रीय सदस्य भने थप हुने सम्भावना छैन ।

यसपटक भने देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी तीनै जना आफ्नै खेमाको पार्ने गरी रणनीति बनाएको स्रोतले बतायो । पार्टी विधानमा व्यवस्था भएअनुसार सभापतिले एक जना उपसभापति, एक महामन्त्री र एक जना सहमहामन्त्री केन्द्रीय समितिमा प्रस्ताव गर्न पाउनेछन् ।

देउवाको प्रस्तावमा उनका निकट सहयोगी मानिने पूर्वमहामन्त्री विमलेन्द्र निधि उपसभापतिको सूचीमा परेको बताइन्छ । तर, कतिपयले उपसभापतिमा पार्टी दुई धारमा रहँदा देउवा धारमा नै रहेका र कार्यवाहक सभापतिसमेत भइसकेका नेता गोपालमान श्रेष्ठलाई ल्याउन सक्ने समेत बताउँदै आएका छन् । उनी आफूले सिनियर नेता भएकाले उपसभापति पाउनुपर्ने भन्दै लबिङ गरिरहेका छन् ।

यस्तै, नेता विजयकुमार गच्छदारलाई पनि के गरी व्यवस्थापन गर्ने भन्नेमा देउवाले ध्यान दिइरहेका छन् । उनका लागि विधान परिमार्जन गर्दा नयाँ पद सिर्जना गर्न सकिनेतर्फ पनि देउवाले सोच्दै आएको उनी निकट नेताहरू बताउँछन् ।

विधानअनुसार ८५ सदस्यीय केन्द्रीय समिति हुनुपर्नेमा १३औं महाधिवेशनबाट ६४ सदस्यीय समिति निर्वाचित भएको थियो । महाधिवेशनबाट सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ सदस्यीय केन्द्रीय समिति निवार्चित भएका थिए भने अन्य मनोनीत हुन बाँकी छ । त्यसमध्ये पनि केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि हाल केन्द्रीय समिति ६३ सदस्यीय छ ।

केन्द्रीय सदस्य खड्काको १६ चैतमा निधनपछि स्थगित केन्द्रीय समितिको बैठक ३ वैशाखबाट बस्नेछ । बैठकले महासमिति बैठकको समेत मिति र स्थान तय गर्नेछ । बैठकबाटै विधान मस्यौदा समिति बनाउने तयारीसमेत भएको छ । महासमितिमार्फत संघीय संरचनाअनुसार परिमार्जन हुने कांग्रेस विधानमा पदाधिकारीहरूको संख्या थप्ने–नथप्नेबारे बहस हुने समेत बताइन्छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);