राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयः सैन्य तालिम केन्द्र नभई रणनीतिक अध्ययनको ‘सेन्टर अफ एक्सिलेन्स’ बन्ने सरकारको दाबी | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयः सैन्य तालिम केन्द्र नभई रणनीतिक अध्ययनको ‘सेन्टर अफ एक्सिलेन्स’ बन्ने सरकारको दाबी

काठमाडौँ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विश्वविद्यालय सैन्य तालिम केन्द्र नभई राष्ट्रिय सुरक्षा, कुटनीति र रणनीतिक अध्ययनको प्राज्ञिक थलो भएको स्पष्ट पार्नुभएको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा उहाँले विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता सुनिश्चित गर्दै नेपालको भू–राजनीतिक संवेदनशीलता सुहाउँदो उच्चस्तरीय अनुसन्धान केन्द्र स्थापना गर्नु विधेयकको मुख्य उद्देश्य रहेको बताउनुभएको हो । मन्त्री गौतमले विश्वविद्यालय रक्षा मन्त्रालयसँग सम्बन्धित रहनुको कारण यसको विषयगत प्रकृति भएको बताउनु भयो । विधेयकमा विश्वविद्यालयलाई प्राज्ञिक रूपमा स्वायत्त बनाउन बोर्ड अफ ट्रस्टीज र प्राज्ञिक परिषद् जस्ता छुट्टै संरचनाको परिकल्पना गरिएको मन्त्री गौतमले जानकारी दिनुभयो । संसद्मा सांसदहरूले उठाएको स्वायत्ततासम्बन्धी प्रश्नमा मन्त्री गौतमले राज्यप्रतिको संस्थागत उत्तरदायित्व र प्राज्ञिक स्वतन्त्रता फरक पाटा भएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा काम गर्ने संस्था भएकाले सरकारसँग यसको संस्थागत सम्बन्ध अनिवार्य रहेको उहाँको जिकिर छ । यद्यपि, प्राज्ञिक स्वतन्त्रतालाई थप बलियो बनाउन सकिने ठाउँमा संशोधनमार्फत छलफल गर्न सरकार तयार रहेको उहाँले बताउनु भयो । यो विश्वविद्यालय स्थापनाको अर्को महत्वपूर्ण उद्देश्य विदेशमा उच्चस्तरीय अध्ययनका लागि जानुपर्ने बाध्यताको अन्त्य गर्नु रहेको छ । २०७६ सालको गठन आदेशबाट शुरु भएको यसको भौतिक पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अब स्थायी ऐनमार्फत सञ्चालन गर्न विधेयक ल्याइएको सरकारको भनाइ छ ।

Leave a Reply

ताजा समाचार