नेपाल विद्यार्थी संघभित्र विवाद बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

नेपाल विद्यार्थी संघभित्र विवाद बढ्दै

nebisang

काठमाडौं, २० बैशाख । कांग्रेसभित्रको विवाद बढ्दै भातृ संगठनसम्म पुगेको छ । नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले आफूनिकट केन्द्रीय सदस्यलाई भेला गरी बैठक गरेको छ ।

पार्टी नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षीका विद्यार्थी नेताहरुले छुट्टै बैठक गरेका हुन् । महामन्त्री कुन्दन काफ्लेले आह्वानमा आज काठमाडौंको बाल्मिकी क्याम्पसमा बसेको बैठकले अध्यक्ष नैनसिंह महरलाई विधानविपरित गरिएका नियुक्ति र मनोनयन फिर्ता लिन आग्रह गरेको छ ।

बैठकमा समसामायिक राजनीतिक, शैक्षिक र सामाजिक विषयमा छलफल भएको नेताहरुले बताएका छन् । सरकारले बढाएको पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल सच्याउनुपर्ने, मनोमानी रुपमा शुल्क लिने शैक्षिक संस्थााहरुलाई कारबाही गर्नुपर्ने, आगामी साता हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्रलाई आँच आउने किसिमका सम्झौता नगर्न सरकारलाई आग्रह गर्ने पनि बैठकले निर्णय गरेको छ ।

असन्तुष्ट समूहले अध्यक्ष महरमाथि मनोमानी ढंगले काम गरेर क्याम्पसहरुमा संगठनका सदस्यहरुबीच द्वन्द्वको अवस्था सिर्जना गरेको आरोप लगाउँदै संगठनको साख जोगाउन वाध्य भएर केन्द्रीय समितिको बैठक बोलाएको तर्क गरेको छ ।

नेविसंघमा एक वर्षभन्दा लामो समयदेखि केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । नेविसंघका अध्यक्ष महर पार्टी अध्यक्ष शेरबहादुर देउवा निकट मानिन्छन् । बैठकमा अध्यक्ष महरलाई पनि बोलाइएको थियो तर, उनी उपस्थित भएनन् ।