अप्सरा लामिछान
काठमाडौं, २० वैशाख । उपत्यकाको नागार्जून नगरपालिकास्थित सिता पाइलादेखि भिमढुङ्गा सडक निकै अस्तब्यस्त भएको छ । सडक विभाग र उपत्यका प्राधिकरण मातहतमा सडक निर्माण सुरु भएको दुई वर्ष बितिसकेको छ । तर, कहिले मुअब्जा त कहिले ठेकेदारका कारण सडक मर्मतको काम अल्झिरहेको हो ।
काठमाडौं सितापाईलादेखि भिमढुङ्गा सडक हेर्दा लाग्छ, यो कुनै दुर्गम गाउँमा रहेको बाटो हो । बर्खामा हिलो तथा खाल्डाखुल्डी र हिउँदमा धुलोले कुइरिमण्डल हुन्छ यो सडक ।
यस सडकबाट सर्वसाधरणले यस्तो सास्ती बेहोरेको दुई वर्ष भइसक्यो । त्यसअघि पक्की सडक झन् राम्रो र फराकिलो बनाउने बाहानामा भत्काइयो । तर, बनाउने बेलामा बखेडाबाजी गरेर अल्झाइएको छ । दुई वर्षमा तीन सरकार फेरिए । तर, हजारौँ मानिसले सास्ती झेल्नुपरेको यो सडकको अवस्था अझै उस्तै छ ।
यो सडक निर्मार्णका लागि दुई वर्ष अघि टेण्डर परेर उपत्यका प्राधिकरण अन्र्तगत राष्ट्रिय स्तरमै सडक निर्माणको काम सुरु भएको थियो । सुरुको समयमा एघार मिटर सडक फराकिलो बनाउने भने अनुसार निर्माण सुरु भएकोमा अहिले बाईस मिटर बनाउने तर, क्षतीपुर्ति नदिने भन्ने सरकारको योजनाका कारण पनि सडक बन्न नसकेको कतिपयको भनाइ छ ।
बाइस मिटर सडक फराकिलो बनाउने हो भने ९ सय घरधुरी सुकुम्बासी हुने देखिएकाले स्थानियले आफ्नो जग्गा छोडन मानिरहेका छैनन् । जसका कारण पनि सडक निर्माणमा ढिलाई भईरहेको छ ।
यता, नागार्जूृन नगरपालीका भने यो सडक निर्माणको काम राष्ट्रियस्तरमै भएकोले यसमा नगरपालिकाले केहि गर्न नसकेको बताउँछ । उपत्यका प्राधिकरणले सडक बनाउन नसके आफुहरु बनाउन तयार रहे पनि एउटै टेन्डर परेको ठाउँमा नगरपालिकाले सडक निर्माणको जिम्मा लिन नमिल्ने नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत बताउँछन् ।




