काठमाडौँ ।
नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा काँग्रेस र नेकपा एमालेका नेता तथा उनीहरूका घरलाई योजनावद्ध रूपमा निशाना बनाइएको आरोप लगाउनुभएको छ । शनिवार पार्टीको ललितपुर लिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले जेन–जी आन्दोलनका क्रममा आफ्नो घर जलाइएको, कृष्णप्रसाद भट्टराईको आश्रममा आगजनी गरिएको र वीपी कोईरालाको पुख्र्यौली घरसमेत जलाइएको बताउनु भयो । आन्दोलनका क्रममा अन्य पार्टीका नेताहरूको घरमा नभई काँग्रेस र एमालेका नेताहरूलाई मात्रै छानीछानी निशाना बनाइएको उहाँको भनाइ छ । उहाँले यसलाई षड्यन्त्रको संज्ञा दिनुभयो । देउवाले आफू विद्यार्थी जीवनदेखि नै प्रजातन्त्रका लागि संघर्ष गर्दै आएको र साढे आठदेखि नौ वर्षसम्म जेल जीवन बिताएको स्मरण गर्नुभयो । वीपी कोईरालालगायत प्रजातन्त्रका लागि संघर्ष गरेका नेताहरूको योगदान स्मरण गर्न आग्रह गर्दै उहाँले काँग्रेसका लागि पसिना बगाएका नेता तथा कार्यकर्ताका सन्तान अझै पार्टीसँगै रहेको बताउनु भयो । आफू जनताको सहयोग र समर्थनबाट पाँचपटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै देउवाले प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका व्यक्तिहरूको इतिहास बिर्सन नहुने बताउनु भयो ।





