राजनीति

एमालेको स्वर्णिम काललाई बालेन र रविले चुनौती दिन सक्दैनन्ः महेश बस्नेत

काठमाडौँ ।

नेकपा एमालेका सचिव महेश बस्नेतले एमालेले आफ्नो शासनकालमा गरेको विकास निर्माण र समृद्धिको कामलाई प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आफूलाई वैकल्पिक शक्ति भन्नेहरूले चुनौती दिन नसक्ने दाबी गर्नुभएको छ ।शनिवार च्यासलमा आयोजित नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा बोल्दै सचिव बस्नेतले एमालेले नेपालको विकास र समृद्धिका लागि महत्वपूर्ण योगदान गरेको बताउनु भयो । उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारको अवधारणाअनुसार तीन हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन भएको र नेपाललाई लोडसेडिङमुक्त बनाइएको दाबी गर्नुभयो । उक्त कामको जस तत्कालीन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि पाउनुपर्ने भएपनि यसको मुख्य अवधारणा ओली नेतृत्वको सरकारको रहेको उहाँको भनाइ छ । नौ महिनाको अवधिमा एमालेले कुनै काम नगरेको भन्ने आरोपको जवाफ पार्टीका प्रत्येक नेता तथा कार्यकर्ताले दिनुपर्ने उहाँले बताउनु भयो ।

त्यसका लागि सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । बस्नेतले एमालेले ३५ वर्ष शासन गरेको भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै २०५२ देखि २०७९ सम्मको अवधिलाई नेपालको विकासको स्वर्णिम कालका रूपमा व्याख्या गर्नुभयो । मनमोहन अधिकारी नेतृत्वको सरकारदेखि एमालेले काम गर्ने अवसर पाएका विभिन्न कार्यकालमा विकासका महत्वपूर्ण काम भएको उहाँको दाबी छ । उहाँले वर्तमान सरकारको नौ महिनाको कार्यकाललाई कुशासन, भ्रष्टाचार, अनियमितता र महँगी वृद्धिसँग जोड्दै आलोचना गर्नुभयो । ग्यासको मूल्य वृद्धि, युवालाई दिइएका आश्वासन र सरकारका गतिविधिले जनतामा निराशा तथा आक्रोश बढाएको उहाँको आरोप छ । बस्नेतले वर्तमान सरकारको कार्यशैली अधिनायकवाद, निरंकुशता र प्रतिशोधतर्फ उन्मुख रहेको टिप्पणीसमेत गर्नुभयो । उहाँकाअनुसार एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी दुईवटा रणनीति बनाएको छ ।

पहिलो, विगतमा पार्टीले गरेका विकास निर्माणका काम र आफ्ना एजेन्डासहित जनतामाझ जाने तथा दुवै निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने र दोस्रो, वर्तमान सरकारका जनहितविरोधी गतिविधिविरुद्ध अन्य विचार मिल्ने दलसँग निर्वाचनमा कार्यगत एकता र आन्दोलनमा संयुक्त संघर्ष गर्ने रणनीति रहेको बताउनु भयो । पार्टीको आगामी रणनीतिलाई प्रभावकारी बनाउन आधारभूत तहका कमिटीलाई व्यवस्थित गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । बस्नेतले कात्तिक २६ गते वडा तहका अधिवेशन र मंसिर ४ गते पालिका तहका अधिवेशन सम्पन्न गर्ने तयारी रहेको बताउनु भयो । अधिवेशन सकेसम्म सर्वसम्मत रूपमा सम्पन्न गर्नुपर्ने भन्दै उनले त्यसो हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्ने बताउनु भयो । अधिवेशनका क्रममा नेताहरूले छुट्टाछुट्टै समूह बनाएर गुटगत प्रतिस्पर्धाको सन्देश दिन नहुने उहाँको भनाइ छ । पालिका तहका अधिवेशन व्यवस्थित गर्न सम्बन्धित इन्चार्जहरूको महत्वपूर्ण भूमिका रहने उहाँले बताउनु भयो ।

Related Post
Share

This website uses cookies.