काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राजनीतिक प्रभावलाई पुनः स्थापित गर्न लाग्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा उहाँले आगामी निर्वाचन र राजनीतिक आन्दोलनका लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले एमालेलाई देशको सही विचार बोकेको, सङ्गठित, प्रभावकारी र उज्यालो भविष्य भएको पार्टी हो भन्नेकुरा स्थापित गर्नुपर्ने बताउनु भयो । केन्द्रिय कमिटीले निर्धारण गरेका दुई प्रमुख कार्यभार आन्दोलन र निर्वाचन रहेको उल्लेख गर्दै उहाँले पार्टीका सबै जनवर्गीय, पेशागत तथा सामुदायिक संगठनलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिनुभयो । कुनैपनि जनसंगठन शिथिल हुन नहुने भन्दै उहाँले पार्टीप्रतिको निष्ठामा कमी देखिएको भन्दै कार्यकर्ताको भुमिकामाथि समेत प्रश्न उठाउनु भयो । उहाँले विशेषगरी वागमती प्रदेशमा एमालेको संगठनात्मक अवस्था कमजोर भएको उल्लेख गर्दै त्यसलाई सुधार्नुपर्ने बताउनु भयो ।
उहाँले पछिल्लो समय जनता उम्मेदवार तथा राजनीतिक नेतृत्वको पृष्ठभूमि, इतिहास, विचार, चरित्र र आचरणको मूल्यांकन नगरी लहैलहैमा लाग्ने गरेको समेत आरोप लगाउनुभयो । यस्तो प्रवृत्तिबाट जनतालाई सचेत गराउनु पार्टी कार्यकर्ताको जिम्मेवारी भएको उहाँको भनाई छ । पार्टीको राजनीतिक गतिविधिमा युवाहरूको परिचालनलाई विशेष प्राथमिकता दिन पनि निर्देशन दिनुभयो । युवाहरूलाई पार्टीमा संगठित गर्दै सक्रिय कार्यकर्ताका रूपमा परिचालन गर्न नसके राजनीतिक सफलता हासिल गर्न कठिन उहाँको भनाई छ ।





