जहाँ पुल नबन्दा एउटा गाउँमा छोरीचेली दिन आनाकानी गर्थे . . .  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

जहाँ पुल नबन्दा एउटा गाउँमा छोरीचेली दिन आनाकानी गर्थे . . . 

गोरखा।  ‘दरौँदी नदीमा पुल नबन्दासम्म घलाङमा छोरी नदिनु भन्ने उखान नै गर्थे । ‘पुल छैन्, यत्रो दरौँदी तरेर कसरी जाने ? चेलीबेटी दिएर के गर्ने ? भन्थे’, गोनपा ३ नारेश्वर घर भई हाल सिरानचोक गाउँपालिका -५  जरेवर बस्ने गोबिन्द बिश्वकर्माले पूराना कुरा सुनाए ।

गेबिन्दको घर नारेश्वर भएता पनि उनको पाखा बारी वाहेक खेतीयोग्य जमिन दरौँदी नदी पारी जरेबर फाँटमा थियो । पुल नहुँदा बर्खामा खेती लगाउन  जाँदा दरौँदी नदी गरेर जान निकै सास्ती हुने उनको अनुभव छ ।

‘पुल नहुँदा बर्खामा खेतिपाती गर्न दरौँदी तरेर जानुपर्थाे । कहिले गोरु बगाउने, कहिले मान्छे बगाउने कम त दुख पाइएन्’, उनी भन्छन् । २०४६ सालमा जरेवर र नारेश्वर जोड्ने झोलुङ्गे पुल बन्यो । झोलुङ्गे पुल बनेपछि भने विगतमा भन्दा केही सहज भयो । तर, आफ्नो खेत दरौँदी पारी नै भएकाले खेति गर्न जान आउजाउ गर्दा समस्या हुन थालेपछि गोबिन्द केही बर्षयता दरौँदी पारी नै घर बनाएर बस्न थालेका छन् । गेबिन्दले जस्तै समस्या भोगेर अहिले नारेश्वरका दर्जनौँ घर परिवार दरौँदी पारी बसाईँ सरेर बसिसकेका छन् । कारण, ‘मोटरवेल पुलको अभाव’ ।अहिले यहाँ स्थानीयहरुले नै माग गरेर गण्डकी प्रदेश सरकारको पाँच करोड ३९ लाख ८० हजार लागतमा मोटरवेल पुल निर्माण भइरहेको छ । यहाँ बनिरहेको पुलका लागि स्थानीयहरुको आग्रहमा तत्कालिन प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले बजेट बिनियोजनका लागि पहल गरिदिएका थिए । ‘हामी स्थानीयहरुले नै यहाँ पुल आवश्यक छ भनेर माग गरेपछि मन्त्री आएर ठाउँ हेरेर बजेट हाल्दिएको हुन् । तर, अहिले स्थानीयहरुसँग सल्लाह नै नगरी बजेट हालेको भन्दै गलत प्रचार  भइरहेको छ’, स्थानीय मधुकर अधिकारी ।अहिले ‘वारी जंगल, पारी खेत, बीचमा पाँच करोडको मोटरवेल पुल’ भन्दै भाईरल भइरहेको यही पुल हो। जुन पुलको पर्खाइमा नारेश्वरका हजारौँ घरधुरीले बर्षैँदेखि प्रतिक्षा गरिरहेका थिए भने गोरखाको निर्वाचन क्षेत्र नम्बर २ का आम नागरिकहरुले आशा गरिरहेका थिए । ‘सडक नै नपुगेको ठाउँमा करोडौँको पुल बन्यो भनेर जसरी प्रचार भइरहेको छ, यो सरासर गलत हो। यहाँ वारीपारि दुबै तीर सडक पुगेको छ । यो पुल सम्पूर्ण नारेश्वरवासी र गोरखाको निर्वाचन क्षेत्र नम्बर २ का सबै जनताका लागि आवश्यक पनि हो’, स्थानीय सुशिल अधिकारी भन्छन् । दरौँदी नदी माथि बनिरहेको पुल नजिकै नारेश्वर  क्षेत्रमा दुई वर्ष अघि नै कच्ची सडक पुगेको थियो ।  सडक सन्जाल भए पनि पुल नहुुँदा प्रयोगमा नआएको सडकमा बिरुवाहरु, झार पात उम्रिएर जंगल जस्तै देखिन्छ । जंगलको बीचमा, प्रयोगमा नआएको सडकमा बिरुवा, झारहरु उम्रनु स्वभाविकै हो । जरेवरतर्फ भने पुलको करिब डेढ सय मिटर नजिकै ग्रावेल गरिएको सडक आइपुगेको छ । दुबैतर्फ सडक आइपुगे पनि सडक पक्की पुल नहुँदा यहाँबाट सवारी आउजाउ गर्न सक्दैन् । तर, दरौँदी नदी माथि पुल बनिसकेपछि नारेश्वर हुँदै गएको सडक मध्यपहाडी लोकमार्ग, बारपाक सडकसँग जरेवरमा जोडिनेछ । यो रुट हुँदै आउजाउ गर्दा दूरीका हिसाबले पनि छोटो र सस्तो पर्ने स्थानीयहरु बताउँछन् ।

‘अहिले हामी डेढ सय रुपैँया तिरेर गोरखा सदरमुकाम जान्छौँ भने यो पुल बन्यो भनेक ६०/७० रुपैँया तीरेर जानसक्छौँ । समयको हिसाबले पनि धन्दै एक घण्टाभन्दा बढि छिटो हुन्छ । बिरामीहरु परे, केही ईमरजेन्सी केस पर्याे भने केही मिनेट छिटो हुँदा पनि मान्छेको ज्यान जानबाट बच्छ’, स्थानीय शम्भु बस्नेत भन्छन् ।सत्ता र शक्तिको आडमा ब्यक्तिगत फाइदाका लागि भन्दा जनताका माग र आवश्यकताका आधारमा बजेट बिनियोजन भएकाले पुल निर्माण सम्पन्न भएपछि थुप्रै जनसंङ्ख्या लाभाम्वित हुने सिरानचोक गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शित्तल पोखरेल बताउँछन् ।‘पुलले पूर्णता पाईसकेपछि अजिरकोट, बारपाक सुलिकोट, सिरानचोक, धार्चे, चुमनुब्रीका र गोरखा नगरपालिका, पालुङटार नगरपालिका लगायतका जनताहरुलाई सेवा दिन्छ । सुबिधा पाउँछन्,’, वडाध्यक्ष पोखरेलले भने, ‘अर्काे दुई नम्बर क्षेत्र वाहेक नयाँ पुल र तुरतुरेको पुल भन्दा वाहेक अर्काे त्यही एउटा दरौँदी नदी माथि छेवेटारको पुल मात्रै हो र यो पुलले केही भवितव्य भईहालेको अबस्थामा एउटा ट्राफिक रुटको रुपमा पनि प्रयोग हुने भएकाले यो पुलको उपयोगिता छ ।’ दरौंदी नदी माथिको यो पुल ५० मिटर लामो हो । कार्यालयका अनुसार पुल निर्माण कार्य करिब ९३ प्रतिशत सकिएको छ । एचटिसी गोसाइँकुन्ड, आइएस निर्माण सेवा जेभीले ठेक्का पारेर यो पुल बनाएको हो । पुलको ठेक्का लगाउँदा नै पुलसँग जोड्न बाँकी सडक पनि निर्माण कम्पनीले गर्ने, नदी किनारमा ग्याबिन लगाउने लगायतको काम गर्ने गरी गरी कामको ठेक्का दिएको कार्यालयले जनाएको छ ।

‘पुलको काम सकिएको छैन् । निर्माण कम्पनीले स्टरकचरको काम गरेर सडकको काम, ग्याबिनको काम गर्ने गरी काम सुरु गर्याे । काम बाँकी नै छ ।  ठेक्का लगाउँदा नै स्टमेटमा निर्माण कम्पनीले पुलसँग जोड्न बाँकी ६०० मिटर सडक पनि बनाउने भन्ने छ । काम छिट्टै सम्पन्न हुन्छ’, पुर्वाधार बिकास कार्यालय गोरखाका सूचना अधिकारी ईन्जिनियर अजय श्रेष्ठले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);