शिखा श्रेष्ठ
धादिङ, १९ चैत । धादिङको नीलकण्ठ नगरपालिका १ खाल्टे पात्लेमा रहेको गुफा ओझेलमा परेको छ । पर्यटनको प्रचुर सम्भावना भएपनि प्रचार-प्रसार नहुँदा गुफा ओझेलमा परेको हो ।
सदरमुकाम धादिङबेशीदेखी १८ किलोमिटरको दुरीमा रहेको उक्त गुफामा चमेरा धेरै भएकोले चमेरो गुफा नाम राखिएको हो । सो गुफा केहि बर्ष अघि गोठालाले पत्ता लगाएका थिए । धादिङका अन्य गुफा र मन्दिरमा दर्शन र अवलोकन गर्नेको भिड लागेपनि चमेरो गुफामा मानीस कम पुग्ने गरेका छन् ।
गुफा भित्र शिव लिङ्ग, हात्तीको सुँड र विभिन्न प्रकारका देवीदेवताका आकारहरु देख्न सकिने स्थानीयको भनाई छ ।
पर्यटनको प्रचुर सम्भावना भएपनि सो गुफाको संरक्षणमा कसैले चाँसो दिएका छैनन् । गुफाको संरक्षणका लागि राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधिले ध्यान दिनुपर्ने स्थानीय र आन्तरिक पर्यटकको भनाई छ ।
गुफा संरक्षणको लागि समिति पनि बनेको छ । तर समितिलाई मात्र गुफाको संरक्षण गर्न कठिन भएको छ । गुफासम्म पुग्नको लागि सडक पनि बनेको छैन । यदि सडक बनाएर प्रचार प्रसार गर्ने हो भने सो गुफामा बाह्य पर्यटक समेत भित्र्याउन सकिन्छ ।