परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु

काठमाडौँ । 

राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय विकास लक्ष्य पूरा गर्न लगानी स्वीकृति र परियोजना कार्यान्वयनबीचको अन्तर हटाउन जरुरी रहेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् । स्वीकृत लगानी कार्यान्वयनमा नआउनु, परियोजनाको लाइसेन्स लिएर होल्ड गर्ने प्रवृत्ति र लगानीकर्ताको कमजोर मनोबल मुलुकको आर्थिक विकासका प्रमुख चुनौती बनेको उनीहरुको भनाइ छ । बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद घनश्याम रिजालले नेपालले तय गरेको विकास लक्ष्य हासिल गर्न वार्षिक करिव १ हजार ५ सय अर्ब रुपैयाँ लगानी आवश्यक हुने बताउनु भयो ।

उहाँले  लगानी बोर्डले स्वीकृत गरेको करिव ४ सय अर्ब रुपैयाँ समेत कार्यान्वयन हुन नसक्नु अत्यन्त चिन्ताजनक रहेको बताउनु भयो । उहाँले परियोजनाको लाइसेन्स लिएर काम अघि नबढाउने र लाइसेन्स नै खरिद–विक्री गर्ने प्रवृत्तिले लगानी कार्यान्वयनको मुख्य समस्या रहेको बताउनु भयो । सांसद रिजालले जलविद्युत् आयोजनाको लाइसेन्स लिएर लामो समयसम्म निर्माण अघि नबढाउने प्रवृत्तिको नियमन गर्नुपर्ने बताउनु भयो ।नेकपा (एमाले)की सांसद सम्झना देवकोटाले जेनजी आन्दोलन र रसुवा भोटेकोशी बाढीको कारण नेपालमा लगानी गर्न स्वदेशी तथा बाह्य लगानीकर्ता सशंकित भएको बताउनु भयो ।

उहाँले लगानीकर्ताको मनोबल उकास्न सरकारले विशेष पहल गर्नुपर्ने समेत बताउनुभयो । उहाँले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण पर्यटकले नेपाल भ्रमण रद्ध गर्ने अवस्था आएको उल्लेख गर्दै पर्यटन प्रर्वद्धन र पर्यटकको सुरक्षाका सम्बन्धमा पनि सरकारले विशेष प्याकेज ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले जलविद्युत्, पर्यटन र जडीबुटी क्षेत्रलाई नेपालको अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । समिति सभापति तथा नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद पौडेलले नेपाल राजनीतिक रूपमा उत्कृष्ट प्रणालीमा रहेपनि आर्थिक रूपमा अझै कमजोर अवस्थामा रहनुको कारण पहिल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले गत वर्षको जेन–जी आन्दोलनको क्रममा उद्योग तथा औद्योगिक प्रतिष्ठानमा भएका आक्रमणका घटनाले उद्योगी–व्यवसायीको लगानी गर्ने मनोबल खस्किएको बताउनु भयो । लगानीको वातावरण निर्माणमा सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।बैठकमा बोल्ने अधिकांश सांसदहरुले स्वीकृत लगानी कार्यान्वयनमा जोड दिए ।

Leave a Reply

ताजा समाचार