काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले वर्तमान सरकार ‘स्टन्टबाजी’ र सामाजिक सञ्जालमा रमाउनमै केन्द्रित रहेको बताउनुभएको छ । संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जनताका आधारभुत समस्या समाधान गर्न सरकार पूर्णतः असफल भएको र यसले जनतामा निराशा मात्र नभई भयावह आक्रोश जन्माएको चेतावनी दिनुभएको हो । सांसद शाहीले देशमा भइरहेका आत्मदाहजस्ता हृदयविदारक घटनाहरूले सरकारको कार्यशैलीमा गम्भीर प्रश्न उठाएको बताउनु भयो । बजारमा देखिएको ग्यास अभाव र पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो ।
काठमाडौं उपत्यकाको माग ५० हजार मेट्रिक टन भए पनि आपूर्ति २० हजारभन्दा कम भएको भन्दै उहाँले सरकारले व्यापारीको टाउकोमा दोष थुपारेर उम्किन नपाइने दाबी गर्नुभयो । पैसा तिर्दा समेत ग्यास नपाउने अवस्था आउनु राज्य सञ्चालनको असफलता भएको उहाँको भनाइ छ । आफूहरूले सरकारलाई पटक–पटक रचनात्मक सहयोग गर्दै आएको शाहीको दाबी छ । शाहीले सरकारलाई अहङ्कार त्यागेर जनताका जल्दाबल्दा समस्यातर्फ केन्द्रित हुन सुझाव दिनुभयो ।




