ओलीको जन्मदिनमा प्रधानमन्त्री निवासमा भारत र चीनका राजदूत , सामान्य कूटनीतिक नियमभन्दा नौलो प्रयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

ओलीको जन्मदिनमा प्रधानमन्त्री निवासमा भारत र चीनका राजदूत , सामान्य कूटनीतिक नियमभन्दा नौलो प्रयोग

oli birthday

काठमाडौं, १२ फागुन । नेपालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार निर्माणसँगै उत्तर–दक्षिणको सक्रियता बढेर गएको छ । यसको झल्को शुक्रबार प्रधानमन्त्री ओलीको जन्मदिनका दिन देखियो ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली बिहानैदेखि आफ्नो ६७औं जन्मदिन मनाउन व्यस्त थिए । यही व्यस्तताबीच भारतीय र चिनियाँ राजदूतहरू छुट्टाछुट्टै रूपमा बालुवाटार पुगेर प्रधानमन्त्रीलाई शुभकामना दिए । उनीहरू बालुवाटार पुग्नु जन्म दिनको शुभकामना मात्र दिनु थिएन, नेपालको राजनीतिमा आफ्नो उपस्थिति जनाउनु पनि थियो ।

शुक्रबार बिहानैदेखि प्रधानमन्त्रीको दिनभरको कार्यतालिका व्यस्त थियो । बिहानै बालुवाटारमा क्याबिनेटको बैठक आयोजना गरिएको थियो । धुम्बाराहीबाट ल्याइएको केक काटेलगत्तै मदन भण्डारी स्पोर्ट्स एकेडेमीले ल्याएको फुटबल आकारको केक काट्ने कार्यक्रम बनेको थियो । शुक्रबार बिहानै बालुवाटारमा दुई छिमेकी देशका राजदूतावासबाट प्रधानमन्त्रीको समय मागियो । प्रधानमन्त्रीको सचिवालयलाई भारतीय दूतावासबाट नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी र चिनियाँ दूतावासबाट नेपालका लागि चिनियाँ राजदूत यु होङले प्रधानमन्त्रीसँग भेट गर्न चाहेको जानकारी गराइयो ।

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको व्यस्त समयबाट दुई राजदूतका लागि समय निकालिदिए । ‘दुई राजदूतहरू आएर शुभकामना दिनुभयो, उहाँहरूले नेपालमा राजनीतिक स्थायित्व र विकासका लागि नयाँ सरकारसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनुभयो,’ प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने । प्रधानमन्त्रीको जन्मदिनमा प्रधानमन्त्रीको सरकारी निवासमै पुगेर कूटनीतिक नियोगका प्रमुखले शुभकामना दिनु सामान्य कूटनीतिक नियमभन्दा नौलो हो ।

‘सामान्यतया यस्तो घटना अन्य देशमा देखिँदैन, हाम्रोमा मात्र देखिन्छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘उनीहरूले आफ्नो उपस्थिति र प्रभाव देखाउनकै लागि सक्रियता देखाएको देखिन्छ, उनीहरूले सक्रियता देखाउनु उचित हो तर प्रधानमन्त्रीज्यूले यसतर्फ ध्यान दिनुपथ्र्यो ।’ सामान्यतया कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले प्रधानमन्त्रीलगायतका नेपालका सरकारी उच्च अधिकारीसँग भेट गर्दा परराष्ट्र मन्त्रालयमार्फत जानुपर्ने कूटनीतिक मान्यता छ । तर, त्यो मान्यता नेपालका उच्च ओहोदामा बसेकाहरूले नै ख्याल नराख्ने परराष्ट्रका ती अधिकारीलेराजधानीसँग बताए ।

दुई छिमेकीको नेपालमा सक्रियता बढ्दै गएको यो पछिल्लो उदाहरण मात्रै हो । प्रधानमन्त्री निर्वाचित भएकै दिन ओलीलाई शुभकामना दिन भारतीय राजदूत मञ्जिभसिंह पुरी मध्यरात बालकोट नै पुगेका थिए ।

चिनियाँ राजदूत यु होङले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री येझाउसहित बालुवाटारमा भेट गरेकी थिइन् । नेपालमा प्रधानमन्त्रीका रूपमा ओली निर्वाचित भएसँगै चिनियाँ उपमन्त्री येझाउ आफ्नै पहलमा नेपालआएका थिए । उनले नेपालमा रहँदा पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, फोरमका अध्यक्ष उपेन्द्र यादवलगायतका नेतासँग भेट तथा छलफल गरेर फर्किएका थिए ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएर फर्किएको दुई साता पनि नबित्दै चिनियाँ उपमन्त्री नेपाल आएर आफ्नो प्रभावलाई निरन्तरताको पहल गरेका थिए । यसअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले १८ माघमा नेपालको अप्रत्याशित भ्रमण गरेर नयाँ सरकारका सम्भावित नेतृत्वकर्तासँग भेटघाट गरी सम्बन्ध सुधारको प्रयास गरेकी थिइन् । पछिल्लो समय भारतीय कूटनीति तथा राजनीतिक सक्रियता बढ्दै गएको देखिन्छ ।यसैबीच चीनले नेपाल, चीन र भारत एकअर्काका महत्वपूर्ण छिमेकी मुलुक भएको बताउँदै तीनै पक्षले सकारात्मक सम्पर्क स्थापित गर्नुपर्ने बताउँदै आएको छ ।

बिहीबार मात्र बेइजिङमा भएको पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता जेन सुयाङले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न चीन तत्पर रहेको उल्लेख गर्दै ओली सरकारसँग चीनको सहकार्य अझै गहन हुँदै जाने विश्वास प्रकट गरेका छन् । सरकार परिवर्तनको मुखमै कूटनीतिक सक्रियता स्वाभाविक भएको प्रधानमन्त्री निकटका एक परराष्ट्र मामिलाका जानकार बताउँछन् । ‘यो समय दुवै देशका कूटनीतिक सक्रियता बढेको देखिन्छ, यो स्वाभाविक पनि हो, नेपालका लागि फाइदाकै विषय हो,’ परराष्ट्र मामिलाका जानकार तथा नेपाल भारत प्रबुद्ध समूहका नेपालतर्फका सदस्य डा. राजन भट्टराईले भने, ‘दुवै देशले नेपाललाई महत्व दिएका छन्, नेपालले दुवै छिमेकी देशसँग सकारात्मक र सन्तुलित सम्बन्ध कायम गरेर अगाडि बढ्नुपर्छ ।’ आजको राजधानी दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);