काठमाडौं ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट निर्माणका क्रममा करका दरहरूमा देखिएका केही सामान्य त्रुटीहरूलाई इमान्दारीपूर्वक सच्याइएको स्पष्ट पार्नुभएको छ । मंगलवार राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८३ माथि उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री वाग्लेले भन्सार दर हेरफेरका क्रममा भएको एउटा प्राविधिक त्रुटीबारे स्पष्टीकरण दिँदै रगत र भ्याक्सिन बोक्ने विशेष क्यारियरको भन्सार दर ३० प्रतिशतबाट घटाएर १५ प्रतिशत कायम गर्न खोजिएको जानकारी दिनुभयो । सोही एचएस कोड अन्तर्गत प्लास्टिकका सुटकेसहरू पनि पर्ने भएकाले प्राविधिक रूपमा ती सामानको पनि दर घटेको र पछि त्यसलाई पुनः ३० प्रतिशत नै कायम गरिएकाले यसलाई ‘बढाइएको’ नभई ‘सच्याइएको’ बुझ्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले विगतमा संसद्लाई जानकारी नै नदिई रातारात दर्जनौँ भन्सार दरहरू परिवर्तन हुने गरेको स्मरण गराउँदै आफूले पारदर्शी ढङ्गले महासचिवलाई पत्र लेखेरै त्रुटी सच्याएको बताउनु भयो ।उहाँले सदनमा लगाइएका आरोपहरू निराधार र दुराशययुक्त भएको टिप्पणी समेत गर्नुभयो । विद्युतीय सवारी साधनको सन्दर्भमा ५० लाख रुपैयाँभन्दा मुनिको बजार मूल्य भएका गाडीहरूको भन्सार दर नबढोस् भन्ने नै सरकारको नीति रहेको उहाँले प्रस्ट पार्नुभयो । यस्तै, आयकरको माथिल्लो सीमालाई ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा झारिएको जानकारी दिँदै उहाँले यसबाट करको दायरा विस्तार हुने र करदातालाई स्वेच्छिक अनुपालनमा प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
बिजुलीमा लगाइएको भ्याटका सम्बन्धमा स्पष्ट पार्दै उहाँले ५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई महशुल नबढ्ने गरी प्रणालीमा सुधार गर्न लागिएको बताउनु भयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको शुल्कबारे बोल्दै अर्थमन्त्रीले निजी विद्यालयमा खर्च गर्ने अभिभावकबाट लिइने ३ प्रतिशत शुल्क दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारमा खर्च गरिने र यो ‘प्रगतिशील कर’ को सिद्धान्त अनुरूप रहेको दाबी गर्नुभयो । राजश्व संकलनको लक्ष्य चुनौतीपूर्ण रहेको स्वीकार गर्दै उहाँले आन्तरिक राजश्व विभाग र भन्सार विभागमा सक्षम एवं इमानदार नेतृत्व चयन गरिएको र आगामी वर्ष १५८० अर्ब राजश्व उठाउने लक्ष्य पूरा गर्न सरकार दृढ रहेको बताउनु भयो । उहाँले बजेटको विश्वसनीयता कायम राख्न घोषित आकारमै कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।




