काठमाडौँ ।
विश्व फुटबल महासंघ फिफा वरियतामा नेपाली महिला टोलीले ऐतिहासिक सफलता हासिल गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थानमा पुगेको छ ।
यसअघि एक सय औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा ८७औं स्थानमा उक्लिएको छ । १२४८.८९ अंक जोड्दै नेपाल ऐतिहासिक रुपमा हालसम्मकै उच्च वरियतामा उक्लिएको हो ।
केही समयअघि भएको एएफसी छनोटमा लाओसलाई ९–०, श्रीलंकालाई ८–० ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग निर्धारित समयमा ३–३ को बराबरी खेलेको थियो । टाइब्रेकरमा भने ४–२ ले पराजित भएको थियो । एसियाली राष्ट्रहरुमध्ये नेपाल १६औं स्थानमा छ ।




