काठमाडौँ ।
क्रिकेट एशोसिएशन नेपाल (क्यान) का सचिव पारस खड्काले एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउनुभएको छ । एसीसी प्रिमियर कपको उपाधि जितेर आईतवार राति स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै खड्काले युवा खेलाडीले गरेको प्रदर्शन प्रशंसनीय रहेको बताउनु भयो । उहाँले अर्जुन कुमाल र शेर मल्ललगायत युवा खेलाडीको प्रदर्शनले नेपाली क्रिकेटको भविष्यप्रति आशा जगाएको उल्लेख गर्नुभयो । खड्काले क्रिकेट टिम स्पोर्ट भएकाले जित्दा सबै कुरा राम्रो देखिने र हार्दा स्वाभाविक रूपमा आलोचना हुने बताउनु भयो । यद्यपि समग्रमा नेपाली क्रिकेट टोलीले राम्रो गरिरहेको उहाँको भनाइ छ । उहाँले नेपालको एकदिवसीय (ओडीआई) संरचना र फम्र्याटमा भने थप मेहनत गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । अहिलेका लागि एशिया कपमा छनोट हुनु टोलीका लागि मनोबल बढाउने महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनु भयो ।
एशियन क्रिकेट काउन्सिल (एसीसी) अन्तर्गतका विभिन्न टोलीसँग प्रतिष्पर्धा गर्नु सहज नभए पनि नेपालले समग्र टिम प्रदर्शन सुधार गर्दै उपाधि जित्न सफल भएको खड्काले बताउनु भयो । देश पछिल्लो केही समयदेखि कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेटले नेपालीमा खुशी ल्याउन सकेको उल्लेख गर्दै उहाँले क्रिकेटमार्फत राष्ट्रलाई जोड्ने अभियानमा क्यान लागिरहेको बताउनु भयो । एशिया कपका लागि अब क्यानले गर्ने तयारीबारे खड्काले नेपाली क्रिकेट टोलीको आगामी ७–८ महिनाको तालिका तथा अर्को वर्षसम्मको कार्यक्रम तयार भइसकेको जानकारी दिनुभयो । उहाँकाअनुसार नेपाली टोलीले अब एशियन गेम्स, क्रिकेट विश्वकप (सीडब्लुसी), नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका प्रतियोगितामा सहभागिता जनाउनेछ । एशियन गेम्समा पदक जित्ने लक्ष्य महत्वपूर्ण रहेको उहाँले बताउनु भयो । यसअघि एशियन गेम्समा नेपाल पदकको निकै नजिक पुगेको स्मरण गर्दै खड्काले आगामी संस्करणमा अझ राम्रो प्रदर्शन गर्ने अवसर रहेको बताउनु भयो । नेपालको ओडीआई वरीयताका आधारमा विश्वकपको प्लेअफ खेल्ने सम्भावना रहेको र आगामी वर्ष द्विपक्षीय सिरिजका लागि समेत क्यानले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो । खड्काले पछिल्लो सफलताले नेपाली क्रिकेटको आत्मविश्वास बढाएको भन्दै आगामी प्रतियोगितामा पनि टोलीले निरन्तर राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।




