‘विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिन्छ’–मन्त्री वादी | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

‘विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिन्छ’–मन्त्री वादी

काठमाडौँ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भोटेकोशी विपद्का कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताउनुभएको छ ।राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले भोटेकोशी बाढीबाट धेरै परिवार प्रभावित भएको र कतिपय बालबालिकाले आफ्ना प्रियजन गुमाउनुका साथै घाइते भएर उपचाररत रहेको बताउनुभएको हो । परिवारबाट छुट्टिएका तथा संरक्षणको पर्खाइमा रहेका बालबालिकाको उद्धार, संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग र परिवारसँग पुनर्मिलनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ छ । मन्त्री वादीले अभिभावक गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको संरक्षण गर्नु सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्रालयले उक्त जिम्मेवारी संवेदनशीलता र प्रतिवद्धताका साथ पूरा गर्ने बताउनु भयो । उहाँकाअनुसार ललितपुरको गोदावरी नगरपालिका–थेचोमा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

केन्द्रमार्फत आवास, खानपिन, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, परिवारको खोजी तथा पारिवारिक पुनर्मिलनलगायत सेवा उपलब्ध गराइनेछ । साथै बालबालिकाको दीर्घकालीन संरक्षण आवश्यकताको पहिचान गरी उपयुक्त व्यवस्था गरिने उहाँले बताउनु भयो । बाढी प्रभावित क्षेत्र तथा होल्डिङ सेन्टरमा रहेका बालबालिकाको गोपनीयता, मर्यादा र सुरक्षालाई प्राथमिकता दिइएको मन्त्री वादीले बताउनु भयो । प्रभावित जिल्लाका स्थानीय तह तथा बालबालिका राखिएका स्थानमा उनीहरूको अवस्था, पहिचान, विस्तृत लेखाजोखा र आवश्यक संरक्षण सेवाका लागि सहजीकरण टोली परिचालन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

विपद्मा आमाबुवा गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि सरकारले दीर्घकालीन स्याहार योजना कार्यक्रम कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै मन्त्री वादीले कुनैपनि बालबालिकाले आफूलाई एक्लो र असुरक्षित महशुस गर्नुपर्ने अवस्था आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बालबालिकालाई हिंसा, दुव्र्यवहार, शोषण, बेचबिखन तथा असुरक्षाबाट जोगाउनु सरकार मात्र नभई अभिभावक, विद्यालय, समुदाय, सञ्चारमाध्यम, नागरिक समाज, निजी क्षेत्र तथा बाल अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाको साझा दायित्व भएको बताउनु भयो । बालपनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने यस वर्षको राष्ट्रिय बाल दिवसको नारालाई व्यवहारमा कार्यान्वयन गर्न सबै पक्षले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ । मन्त्री वादीले समस्यामा परेका वा हिंसा, दुव्र्यवहार तथा जोखिममा रहेका बालबालिकालाई चुप नबस्न आग्रह गर्दै निःशुल्क बाल हेल्पलाइन १०९८ तथा बालबालिका खोजतलास केन्द्र १०४ मा सम्पर्क गर्न अपिल गर्नुभयो ।–

Leave a Reply