रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर

काठमाडौँ ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शान्ति सेवा गृहको आयोजनामा गरिएको शिविरमा विस्थापित बालबालिका, महिला, ज्येष्ठ नागरिकसहित बाढी प्रभावितको स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श दिइएको हो । शान्ति सेवा गृहका उत्तम निरौलाले बाढीका कारण घर तथा थाँतथलो छाडेर काठमाडौंमा बस्न बाध्य भएका परिवारको स्वास्थ्य अवस्था पहिचान गर्न शिविर सञ्चालन गरेको बताउनु भयो । उहाँकाअनुसार शिविरमा सामान्य स्वास्थ्य परीक्षणसँगै स्त्रीरोग, बालरोग, आँखा, दाँत तथा प्रयोगशाला परीक्षणको व्यवस्था गरिएको छ । शिविरमा उपचारपछि थप स्वास्थ्य सेवा आवश्यक पर्ने बिरामीलाई फलोअप, औषधि तथा आवश्यक परे अस्पतालसम्मको सेवा निःशुल्क उपलब्ध गराउनले उहाँले बताउनु भयो । गम्भीर बिरामीलाई शान्ति सेवा गृहसँग सम्बन्धित अस्पतालमा वा आवश्यकताअनुसार अन्य अस्पतालमा समेत उपचारका लागि पठाइने उहाँको भनाई छ । उहाँले बाढी प्रभावित परिवारका बालबालिकाको शिक्षामा समेत सहयोग गर्ने बताउनु भयो ।शिविरमा एक सयभन्दा बढी बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । अधिकांशमा रुघाखोकी, ज्वरो, कान पाक्ने तथा झाडापखालाजस्ता समस्या देखिएको बालरोग विशेषज्ञ डा. कौशलले बताउनु भयो । त्यसैगरी करिब १५ देखि २० जना बालबालिकामा मनोवैज्ञानिक त्रास देखिएको उहाँको भनाई छ । उनीहरूलाई मानसिक स्वास्थ्य विशेषज्ञ कहाँ रिफर गरिएको उहँले जानकारी दिनुभयो । आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टरकी निर्देशक तथा साइकोथेरापिस्ट साधना थापाले बाढी प्रभावितमा मानसिक र भावनात्मक असर देखिएको बताउनु भयो । बाढीले परिवारका सदस्य गुमाउनुका साथै घर, जग्गा, खेती तथा सम्पती गुमाएका कारण अधिकांशमा मानसिक असर परेको उहाँको भनाई छ । उहाँकाअनुसार बालबालिकामा फेरि बाढी आउने डर, राति झस्किने, असुरक्षित महसुस गर्ने तथा ‘अब कहाँ जाने’ भन्ने अन्योल देखिएको छ । यस्तो अवस्थामा व्यक्तिगत मनोचिकित्सा तथा समूहगत रूपमा शोक व्यवस्थापन र मनोसामाजिक सहयोग आवश्यक रहेको उहाँले बताउनु भयो । रसुवा उत्तरगया गाउँपालिका–५ बेत्रावतीका शिव लामिछानेले बाढी प्रभावितका लागि स्वास्थ्य शिविर सञ्चालन गरेर शान्ति सेवा गृहले महत्वपूर्ण सहयोग गरेको बताउनु भयो ।

उहाँले बाढीपीडितको स्वास्थ्य, शिक्षा र मनोसामाजिक अवस्थाबारे राज्यले थप व्यवस्थित रूपमा काम गर्नुपर्ने बताउनु भयो । बाढी गएको करिब एक महिना बितिसक्दा पनि विस्थापित परिवारको दीर्घकालीन पुनस्र्थापना, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा पर्याप्त काम नभएको उहाँको गुनासो छ । राहत सामग्री वितरण भइरहे पनि प्रभावित परिवारमा भविष्यप्रति विश्वास र आत्मविश्वास जगाउने कार्यक्रम गर्न आवश्यक रहेको उहाँले बताउनु भयो । उहाँले काठमाडौंमा बसिरहेका प्रभावित परिवारले घरभाडा, बालबालिकाको शिक्षा तथा दैनिक जीविकोपार्जनमा समस्या भोगिरहेको उल्लेख गर्नुभयो । स्थानीय क्षेत्रमा तत्काल पुनस्र्थापना सम्भव नहुँदा रोजगारी र शिक्षाका कारण काठमाडौं आएका परिवारका लागि सरकारले अन्तरिम व्यवस्थापन गर्नुपर्ने उहाँको भनाई छ । रसुवाका विकास लामाले एकै वडाका मात्रै करिव २०० घरधुरी काठमाडौंमा रहेको बताउनु भयो । बाढीपछि थप करिव १०० देखि १५० घरधुरी काठमाडौं आएको उहाँको भनाई छ । बाढीले कृषि, व्यवसाय र रोजगारीका आधार नष्ट भएपछि बालबालिकाको पढाइ तथा परिवारको दैनिक खर्च व्यवस्थापनमा समस्या परेको उहाँले बताउनु भयो । प्रभावित परिवारका लागि तत्कालीन राहतसँगै दीर्घकालीन आयआर्जन र पुनस्र्थापनाको योजना आवश्यक रहेको उहाँको भनाई छ । नुवाकोट विदुर–१० बेत्रावतीका पवन डंगोलले बाढीका कारण आफ्नो परिवारको आर्थिक अवस्था र आवास दुवैमा ठूलो क्षति पुगेको बताउनु भयो । तत्कालै आफ्नो क्षेत्रमा फर्केर बस्ने अवस्था नरहेकाले बालबालिकाको शिक्षा र परिवारको आधारभुत आवश्यकताका लागि काठमाडौंमै बस्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ । उहाँले बेत्रावती क्षेत्रमा स्थायी पुनस्र्थापना चुनौतीपूर्ण देखिएको बताउनु भयो । उहाँकाअनुसार तत्कालका लागि अस्थायी पुनस्र्थापना सम्भव भएपनि भविष्यमा जोखिम मूल्याङ्कन गरेर स्थायी बस्तीका विषयमा निर्णय गर्नुपर्ने अवस्था छ ।

शान्ति सेवा गृहले सञ्चालन गरेको शिविरमा स्वास्थ्य परीक्षणसँगै प्रभावित परिवारको आवश्यकता बुझ्ने, शिक्षा, आवास, औषधि, मनोसामाजिक सहयोग र जीविकोपार्जनका क्षेत्रमा आवश्यकताअनुसार सहयोग गर्ने जनाएको छ । संस्थाकाअनुसार अहिले रसुवा र नुवाकोटका करिब २५० परिवार सम्पर्कमा छन् भने थप प्रभावित परिवारले पनि सम्पर्क गर्न सक्नेछन् । शिविरमा सहभागी परिवारको स्वास्थ्य तथा अन्य आवश्यकताको विवरणसमेत संकलन भइरहेको संस्थाले जनाएको छ । संस्थाले अभिभावक दुवै गुमाएका बालबालिकालाई आश्रममा राखेर कक्षा १२ सम्मको शिक्षा तथा हेरचाहको जिम्मेवारी लिने र परिवारका सदस्यसँग बस्न सक्ने बालबालिकालाई विद्यालय शुल्क तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने भएको छ । साथै वाढी प्रभावित परिवारको जीविकोपार्जनका लागि सिलाइ–बुनाइ, मेकानिक्स, कुखुरापालनलगायत पेसाअनुसार आवश्यक सामग्री उपलब्ध गराउने पनि संस्थाको तयारी छ ।

Leave a Reply

ताजा समाचार