अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो, नदीमा खतराको तह | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो, नदीमा खतराको तह

काठमाडौँ ।

अविरल वर्षाका कारण आएको बाढी र पहिरोले गण्डकी प्रदेशुसहित देशभरको जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ । बाढीले स्याङ्जा र गुल्मीलाई जोड्ने पक्की पुल बगाएको छ भने प्रदेशका अधिकांश प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् । निरन्तरको वर्षाले प्रमुख नदीहरूमा जलसतह खतराको तह पार गरेपछि तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक विपद्को जोखिम उच्च बनेको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालिगण्डकी गाउँपालिका–१ हर्मिचौर जोड्ने पक्की पुल बाढीले बगाएको छ । यससँगै पर्वत, म्याग्दी र लमजुङका मुख्य नदीहरूमा जलसतहले खतराको तह पार गरेको छ । विशेषगरी लमजुङको चेपे खोला, पर्वतको कालीगण्डकी नदी र म्याग्दीको नारायणी नदीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ ।

सडक सञ्जालतर्फ बेसीशहर–चामे, जोमसोम–कोरला,पोखरा–वागलुङ, बेनी–जोमसोम, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर लगायतका मुख्य राजमार्ग र सहायक सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । तनहुँको पृथ्वी राजमार्गको घाँसीकुवा खण्डमा खसेको पहिरो पन्छाउन नेपाली सेनाको कालीभञ्जन गणबाट खटिएको टोलीले प्रयास जारी राखेको छ । सुरक्षा निकायले विपद्को जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी तिब्र पारेको छ । पर्वतको घारखोला क्षेत्रमा बहाव उच्च भएपछि नयाँ रणभीम गुल्मको सुरक्षा पोष्टलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यस्तै, कास्कीको पञ्चासे, तनहुँको कोटेगाउँ, स्याङ्जाको पञ्चमुल र म्याग्दीको दरबाङ लगायतका क्षेत्रमा वर्षाको मात्रा सतर्कता तहभन्दा माथि पुगेको छ । सम्बन्धित प्रशासनले अत्यावश्यक बाहेकका अवस्थामा यात्रा नगर्न र शतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

Leave a Reply

ताजा समाचार