सोमबार रातिदेखिको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित, कहाँ के भयो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

सोमबार रातिदेखिको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित, कहाँ के भयो ?

काठमाडौं । सोमबार रातिदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, डुबान र पहिरोबाट जनजीवन प्रभावित भएको छ ।

भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको हो । देशका विभिन्न १८ स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर पनि अवरूद्ध भएको छ । बागलुङ–बुर्तिबाङ सडकखण्डमा अवरोध आएको छ । पहिरो खसेपछि घोराही–लमही सडकखण्ड पनि अवरूद्ध भएको छ । यस्तै नारायणगढ–मुग्लिन सडक खण्ड पनि पहिरो खसेर अवरूद्ध भएको थियो ।

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पनि अवरूद्ध भएको छ । धनुषामा कमला नदीको बाढीले बगाउँदा एक दम्पती बेपत्ता भएका छन् । गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीय माया परियार बेपत्ता भएका हुन् । चुरे क्षेत्रमा भएको अविरल वर्षापछि आएको बाढीले धनुषामै तीन जनालाई बगाएको छ । तीमध्ये एक जनाको मृत्यु भएको र दुई जनाको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

अबिरल बर्षाका कारण बर्दियाको बाढीमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ । बर्दियाको बबई तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । त्यस्तै, कमला नदी, सिन्धुली रानीबासको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । त्यहाँ पनि तल्लो तटीय तथा डुबान हुने क्षेत्रहरुमा सतर्कता अपनाउन आग्रह गरिएको छ । दाङको लमही, भालुबाङ, कुसुम र आसपास पनि निरन्तर पानी परेको बताइएको छ ।

बाराको कलैया, सिमरा, निजगढ, रौतहटको गरुडा र आसपासमा पनि भारी वर्षा मापन भएको छ । बकैया नदी, जमनी नदी, पसाह नदी र अन्य नदीहरूमा आकस्मिक बाढी आउन सक्ने बताइएको छ । राष्ट्रिय राजमार्गसमेत क्षतविक्षत बन्दा सयौँ सवारी साधन र हजारौँ यात्रु अलपत्र परेका छन् । ग्रामीण सडक सञ्चालन नहुँदा जनजीवन नै कष्टकर हुँदै आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);