आज दिनभर बाढी र पहिरोबाट कहाँ के भयो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आज दिनभर बाढी र पहिरोबाट कहाँ के भयो ?

badi12

काठमाडौं, १८ असार । आइतबारदेखि परेको अविरल बर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । तराइमा बाढि र डुबान तथा पहाडमा पहिरोले जनजीवनमा असर गरेको छ ।

रोल्पाको रुनटीघढी गाउँपालिका–५ मा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । रुनटीघढी गाउँपालिकामा घर भत्किदा २२ बर्षिय कमला विश्वकर्मा, १८ दिनकी शिशु आयुशा विश्वकर्मा र १५ बर्षिय चित्रा विश्वकर्माको मृत्यु भएको हो।

बाँकेमा बाढीबाट ३ जनाको मृत्यु भएको छ । बैजनाथमा दुई जना र कोहलपुरमा एक जनाको मृत्यु भएको हो । बैजनाथ गाउँपालिका ५ गुरुवागाउँका ३५ बर्षिय लोकबहादुर सुनार, बैजनाथ ३ का ६५ बर्षिय तुलाबहादुर बुढा र कोहलपुर नगरपालिका ४ गौवा गाउँका ४ बर्षिय बालक रञ्जित पासीको मृत्यु भएको हो ।

वर्षाका कारण किरण नाला, पेडारी नाला, डुडुवा नाला, जेठी नालामा बाढी आएको छ । पेडारी नालामा बाढी आउँदा नेपालगञ्ज–गुलरिया सडक खण्डमा आवागमन प्रभावित भएको छ । बाढीले राप्ती सोनारी र नरैनापुर समेत प्रभावित भएको छ ।

बाढीले नेपालगञ्जका न्यूरोड, बसपार्क रोड,घरवारी टोल, सेतु विक चौक, बाँके गाँउ लगायतका स्थान डुबेका छन् । भारतले नियम विपरित लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि बाँके बर्सेनि डुबानमा पर्ने गरेको छ ।

उता नवलपरासीमा १ सय ५० भन्दा धेरै डुबानमा परेका छन् । प्रतापपुर गाउँपालिका ३ मा धनेवा खोलाको बाँध फुटेर १ सय ५० भन्दा बढी घर डुवानमा परेको हो।

त्यस्तै अविरल बर्षाका कारण कर्णाली राजमार्ग अबरुद्ध भएको छ । कर्णाली राजमार्ग अन्र्तगतको शुभकालिका गाउँपालिका १ को गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।

नारायणगढ मुग्लिन सडक खण्डको विभिन्न ठाउँमा पहिरो झर्दा आवागमन प्रभावित भएको छ । त्यस्तै पहिरो झरेपछि पासाङ्गलाह्मु राजमार्ग अवरुद्ध भएको छ ।

नुवाकोटको ककनी गाउँपालिका ४ मा पहिरो झरेपछि पासाङ्गलाह्मु राजमार्ग अवरुद्ध भएको हो । वर्षाका कारण पहिरो झरेर सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । गाहाखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

रुपन्देहीमा बर्षाका कारण गौतम बुद्ध बिमानस्थलबाट हुने सबै उडान अवरुद्ध भएका छन् । भैरहवा क्षेत्र र आसपासका क्षेत्र वर्षाका कारण डुबानमा परेको छ । दाङको बबई गाउँपालिका ५ मा पर्ने टवाङ खोलामो बाढीले ना १ ख १८६१ नम्बरको बस बगाएको छ । बस बगाएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

नदीमा पानीको बहाव बढेसँगै तराईको अधिकांश क्षेत्र डुबानमा पर्ने जोखिम बढेको छ । निरन्तरको वर्षाले चितवनका राप्ती, नारायणी, रीउलगायतका नदीमा पानीको बहाव बढेको छ । पानीको बहाब बढेपछि माडी–ठोरी सडक खण्ड अवरुद्ध भएको छ ।

अधिकांश खोलामा पुल नभएकाले यातायात सेवासंगै आवातजावतमा समस्या भएको छ । पानीको बहाब बढेकाले माडीको रतनी खोलाको पुल भासिएको छ । माडीको अधिकांश क्षेत्र जलमग्न भएकाले उच्च सर्तकता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

यता रौतहटको लालबकैया नदीले तटबन्ध कटान गरेपछि एकदर्जन भन्दा बढी गाउँ डुबानको जोखिममा परेका छन् । रौतहटको पूर्वतर्फ रहेको वाग्मती र पश्चिममा रहेको लालबकैया नदिमा पानीको सतह बढेपछि बस्ति जोखिममा परेको हो।

बाढीले जमिन कटान गर्न थालेपछि रोक्नका लागी नेपाल प्रहरी र शसस्त्र प्रहरी खटीएका छन् । लालबकैया, बागमती, लमाहा, झाझ, अडुवा खोलामा पानीको सतह उच्च रहेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालको टोली कटान क्षेत्रमा पुगरेर अनुगमन समेत गरेको छ ।

उता अविरल बर्षासँगै महाकाली नदीमा पानीको बहाव बढेपछि बाढीको जोखिम बढेको छ । नदीमा पानीको बहाव बढेसँगै दार्चुला सदरमुकाम खलंगा लगायतका क्षेत्रमा बाढीको जोखिम बढेपछि स्थानीय त्रसित भएका छन् ।

भारतको धार्चुलातर्फको खोलामा पहिरो झरेकाले महाकालि नदीमा पानीको बहाव बढेको हो । भारतको खोतिला भिरमा पहिरो झर्ने क्रम नरोकिएकाले महाकाली नदी थुनिन सक्ने सम्भावना रहेको भन्दै सुरक्षा सतर्कता बढाइएको दार्चुला प्रहरीले जनाएको छ ।

महाकाली नदीमा निर्माणधीन तटबन्धमा समेत क्षति पुगेको छ । बाढी पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन स्थानीयलाई प्रशासनले अपलि गरेको छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);