सिरियाको अफ्रिनमा विस्थापित किसान जैतुन खेतीबाट जीविकोपार्जन पुनःस्थापित गर्ने प्रयासमा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १० २०८३, मंगलबार

सिरियाको अफ्रिनमा विस्थापित किसान जैतुन खेतीबाट जीविकोपार्जन पुनःस्थापित गर्ने प्रयासमा

सिरियाको उत्तरी क्षेत्र अफ्रिनमा विस्थापनपछि घर फर्किएका किसान जैतुन खेतीमार्फत आफ्नो जीविकोपार्जन पुनःस्थापित गर्ने प्रयासमा जुटेका छन् । तर इन्धन, मल तथा कृषि सामग्रीको बढ्दो मूल्यले उनीहरूको प्रयास कठिन बनेको छ । वर्षौंपछि आफ्नो जमिनमा फर्किएका किसान अहिले जैतुन टिप्ने, फल छुट्याउने र तेल उत्पादनका लागि तयारी गर्ने काममा व्यस्त छन् । उनीहरूमध्ये ओराइ अरेफ नासो पनि एक हुन् । करिव १० महिनाअघि उत्तरपूर्वी प्रान्त हसाकाबाट फर्किएका नासोले आफ्नो परिवारको जैतुनका रूख वर्षौंसम्म उचित हेरचाह नपाउँदा कमजोर अवस्थामा पाएका थिए । उनकाअनुसार अफ्रिनका बासिन्दाका लागि जैतुन खेती आम्दानीको प्रमुख स्रोत हो । आफ्नो भूमि, क्षेत्र र जैतुनका रूखमा फर्कन पाउँदा आफूहरू खुसी भए पनि खेतीलाई पुरानै अवस्थामा फर्काउन कठिन भइरहेको उनले बताए । सन् २०१८ मा सिरियामा द्वन्द्व चर्किएपछि उत्तरी अलेप्पो प्रान्तको कुर्द समुदायको बाहुल्य रहेको अफ्रिन क्षेत्रबाट ठूलो सङ्ख्यामा मानिस विस्थापित भएका थिए । त्यसका कारण धेरै किसान वर्षौंसम्म आफ्नो जमिनबाट टाढा रहन बाध्य भए । नियमित हेरचाह नपाउँदा जैतुनका बगैँचाको उत्पादन क्षमता प्रभावित भयो । नासोकाअनुसार घर फर्किएपछि रूखको हेरचाहमा निरन्तर लागे पनि पहिलेको जस्तो स्याहार गर्न सकेका छैनन् । डिजेल, मल र अन्य कृषि सामग्रीको मूल्य महँगो हुँदा खेती सुधार्न समस्या भएको उनले बताए । कृषि इन्जिनियर तथा जैतुन किसान अब्दुलरहमान आइबोले पनि किसानको उत्पादन बढाउने र रूखको राम्रो हेरचाह गर्ने चाहना रहे पनि कमजोर आर्थिक अवस्थाले बाधा पु¥याएको बताए । किसानलाई आवश्यक मल तथा कृषि सामग्री उपलब्ध गराउन सरकार र विभिन्न संस्थाले सहयोग गरेमा अवस्था सुधार हुन सक्ने उनको भनाइ छ ।
यद्यपि, अलेप्पो क्षेत्रमा जैतुन उत्पादनमा सुधारका सङ्केत देखिएका छन् । अलेप्पोको कृषि तथा कृषि सुधार निर्देशनालयअन्तर्गत जैतुन शाखाका प्रमुख इलियास समानकाअनुसार यस सिजनमा जैतुन उत्पादन करिव दुई लाख २५ हजार मेट्रिक टन पुग्ने प्रारम्भिक अनुमान छ । गत वर्ष उत्पादन एक लाख ९८ हजार मेट्रिक टन थियो ।
समानले यस वर्षको उत्पादन वृद्धिमा वर्षा बढ्नुले महत्वपूर्ण भूमिका खेलेको बताए । तर सिँचाइका लागि पानीको अभाव र कृषि सामग्रीको उच्च मूल्य अझै चुनौतीका रूपमा रहेको उनले उल्लेख गरे । उनकाअनुसार अलेप्पोको कुल जैतुन उत्पादनमा अफ्रिन क्षेत्रको हिस्सा करिब ४८ प्रतिशत छ । विस्थापित जमिनधनीहरू फर्किन थालेपछि खेतीपाती र जैतुनको तेल निकाल्ने उद्योगसमेत पुनः सञ्चालन हुन थालेका छन् । केही क्षेत्रमा जैतुन र पिस्ता खेती विस्तार गर्ने काम पनि भइरहेको उनले बताए ।
तर, उत्पादन बढ्दैमा किसानको आम्दानी पनि बढेको छैन । नासोकाअनुसार यस सिजनमा एक टिन जैतुनको तेलको मूल्य करिव ५० देखि ६० अमेरिकी डलर छ । विगतका वर्षमा यसको मूल्य करिब १०० डलर वा त्यसभन्दा बढी हुने गरेको थियो ।

तेलको मूल्य घटेको तर इन्धन, मल र मजदुरको ज्याला महँगो रहेकाले किसानको आम्दानी खुम्चिएको छ । कामदारलाई दैनिक ज्याला दिनसमेत कठिन भइरहेको नासोले बताए । किसानले खेतीलाई पुनर्जीवित गर्न सरकारी तथा संस्थागत सहयोगको अपेक्षा गरेका छन् । नासो आफ्नो परिवारको जैतुन बगैँचा आफू विस्थापित हुँदाको समयजस्तै स्वस्थ र उत्पादनशील भएको देख्न चाहन्छन् । त्यसका लागि डिजेल, विषादी र मल उपलब्ध गराउन सहयोग आवश्यक रहेको उनले बताए ।

Leave a Reply