आखिर देश विकास नहुने नै भयो …………………..। (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

आखिर देश विकास नहुने नै भयो …………………..। (भिडियोसहित)


सत्तारुढ दल नेकपा भित्रको विवाद क्रमश अस्वभाविक देखिंदै आएको छ । नेकपा भित्रको विवादले देशको राजनीतिलाई नै अस्थिरतातर्फ धकेलेको छ । देशलाई कायापलट गर्ने प्रतिवद्धता जनतामाझ दिएर आएका नेताहरु सत्ता केन्द्रित राजनीतिक दलदलमा दिनदिनै फसिरहेका छन् । कोरोनाको महामारी र जनजीविकाको अहंम सवालमा केन्द्रित हुनुपर्ने नेकपाका वरिष्ठत नेताहरु अहिले बेमौसमको राजनीतिक ताण्डव प्रदर्शन गरिरहेका छन् । जसलाई जनताले पटक्कै रुचाएका छैनन् ।

देशले भोगेको लामो संक्रमणकालिन राजनीति, संविधान सभाबाट संविधान बनेर स्थायी सरकारले काम गर्न थालेसँगै राजनीतिले स्थिरता प्राप्त गर्न सक्ने धेरैको विश्वास थियो । राजनीतिमा आएको ठूलो बदलावले राजनीतिकर्मीहरुलाई नयाँ जोश र जांगर दिनसक्ने, अनि ऊर्जाशील जोश र जांगर देशको निमित्त खर्च हुने आंकलन पनि गरिएको थियो ।

अझ राजनीति गर्दागर्दा आफ्नो जीवनकालको पूर्वाद्र्ध लगभग सिध्याएका परिपक्व नेताहरु जीवनको उत्तराद्र्धमा प्राप्त गरेको सफलतासँगै एकाकार राजनीतिक आवाज र प्रतिवद्धतासहित देशलाई कायापलट गर्ने बलीवेदीमा होमिन्छन भन्ने अपेक्षा अस्वभाविक पनि थिएन । तर दुःखद यो सबै जनअपेक्षा अपेक्षा मै सीमित हुने अवस्था बन्दैछ ।

केन्द्रीय सत्ता मात्र अस्थिर थियो, अब हुँदाहुँदा प्रादेशिक सत्ताहरु पनि राजनीतिक चपेटामा पर्ने अवस्था तीब्र बनेको छ । आज देशभरि अनेकौं प्रकारका समस्याहरु एकपछि अर्काे हुँदै कहाली लाग्दो वातावरण बन्दैछ । जनताले आफ्नो जीविकोपार्जन कसरी गरिरहेका होलान भनेर चिन्ता गर्नेसम्म कुनै सत्ता छैन । कोरोना संक्रमणसँगै भित्रिएका नेपालीहरु दशैंको टीका पनि पूरा नहुँदै लाइन लागेर विदेशतर्फ पलायन हुँदैछन । उद्योग व्यवसाय संकटग्रस्त छ । वित्तिय क्षेत्रका सूचकहरु सकारात्मक छैनन् । एक प्रकारले भन्ने हो भने, उत्पादनशील क्षेत्र सम्पूर्ण रुपमा थलिएको छ । कृषि मलको समेत आपूर्ति गर्न नसकेसँगै कृषि क्षेत्रको प्रगति पनि उत्साहजनक छैन । विभिन्न उद्योग व्यवसायहरु बन्द भएसँगै बेरोजगारीको वातावरण अरु तिव्र बनेको छ । सहर बजारका ठूलो दोकानहरु भाडा तिर्न नसकेर भटाभट बन्द भइरहेका छन् । पर्यटन उद्योग चल्ने अवस्था कतै देखिंदैन । यातायात क्षेत्र आफ्नो मजदूर पाल्न नसक्ने अवस्थामा पुगेको छ । दैनिक रोजगारी गरी खाने तहका जनताको सडकबास भएको छ ।

यस्ता विकराल समस्याहरु त आफ्नो ठाउँमा छंदैछ । कोराना महामारीको संक्रमणले जनजीवन भएग्रस्त बनाएको छ । एक प्रकारले भन्ने हो भने जनता आतंकित छन । यसको फाइदा लिन प्रतिस्पर्धा गर्ने स्वास्थ्य क्षेत्र अरु धेरै माफियाकरणतर्फ प्रवृत्त बन्दैछ । जसरी पनि जनतालाई लुट्नेतर्फ क्रियाशील निजी स्वास्थ्य क्षेत्रको अवस्थाले जनमानसमा झन भयको वातावरण सृजना गराएको छ । यत्रो भयावह स्थितिकोबारेमा वरिष्ठतम नेता भन्न चाहने नेतृत्वगणमा कुनै चासोपूर्ण छलफल हुन सकेको छैन । न सरकारका राम्रा एजेण्डा जनलक्षित छन, न पार्टीहरु सरकारलाई दवाव दिने अवस्थामा नै देखिन्छन ।

संधैभरिको उराठलाग्दो राजनीतिक खिचातानीमा नै आफ्नो भविष्य देख्ने राजनीतिक मनुवाहरु जनताको आंखामा यति गिरिसके कि सायद अब उनीहरुलाई उठ्न पनि सजिलो छैन । आफ्नो पक्षमा अनेकौं सुविधाहरुको निर्णय गर्दै राज्यले आपूmलाई आजीवन पाल्नुपर्ने दायित्व बोकाउँदै आपूm केन्द्रित राजनीतिको पराकाष्ठा स्वरुप मञ्चन हुने राजनीतिक ताण्डव जनताले रुचाउन या नरुचाउन प्रदर्शन भने निरन्तर भइ नै रहेको छ । सुन्नमा आए अनुसार सरकार विरुद्धको अविश्वासको प्रस्ताव जोडतोडका साथ अघि बढेको छ । यो काम कुनै प्रतिपक्षी दलबाट भएको छैन, सत्तापक्षबाटै भएको छ ।

यदि यस्तो भयो भने यसले पनि नेपालको आफ्नो राजनीतिक मौलिकतालाई झल्काउने छ । यो क्रम अघि बढेसँगै जित्ने र हार्ने अवस्था पनि आउँछ नै होला । त्यसपछि हार्नेले फेरी जित्ने दाउ खेल्दाखेल्दै राजनीति अरु तरल बन्दै नेकपाले पाएको स्वर्णिम अवसर गुम्ने निश्चित नै छ । नेतृत्वलाई लागेको होला यो जनविश्वास संधैभरिकाको लागि अकन्टक हो । सबैले सोच्नुपर्ने वास्तविकता के हो भने, राजनीतिमा अवसर एक पटक प्राप्त हुन्छ । अवसर चुम्न सक्नेले विजयश्री प्राप्त गर्छ । जस्ले चुम्न सक्दैन त्यो माटोमा बिलिन हुन्छ ।

यो इतिहासको कालखण्डमा सम्बन्धित नेतृत्वले गहिरिएर सोचुन, आत्मसमीक्षा गरुन, आत्मालोचना गरुन, आपूmले हिंडेको बाटोको तिब्र समीक्षा गरुन र भनुन– आफ्नो यात्रा विजयीश्रीतर्फ उन्मुख छ या धुलोमा बिलिन हुनेतर्फ अघि बढेको छ । एउटा भारतीय दूत आएर प्रधानमन्त्रीलाई भेट्दा आकाशै खसेको जस्तो गर्ने राजनीतिज्ञहरुले दशैंको टीका समेत नसकिंदै हजारौं हजार आफ्ना देशका जनता ज्याला मजदूरीका लागि भन्दै भारतीय सहरहरुमा गए गुज्रेको कामको लागि नजर दौडाएको अवस्थाले मन पोल्ला कि नपोल्ला ? क्षणिकता राजनीति होइन । दीर्घकालीन सोच र चिन्तनले राजनीति गर्नेहरुलाई राजनीतिज्ञ बनाउँछ । पाएको बेला खाइ हालौं भन्ने प्रवृत्ति दिवालिया हो । सबैलाई सच्चिने मौका अहिले पनि छ ।

यदि हरेक ठाउँबाट जनताले प्रतिकार गर्न थाले भने चुनावी भाषण गर्न समेत सुरक्षा निकायको सहयोग लिनुपर्ने दिन आउन सक्छ । सुरक्षा दस्तालाई नै भाषण सुनाएर रातारात राजधानी फर्कनुपर्ने अवस्था आयो भने कसैले अन्यथा मान्नुपर्ने छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);