एउटालाई फुटि दिनु पर्ने, एउटालाई जुटि दिनुपर्ने । जनतालाई हर्ष न विष्मात् । (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एउटालाई फुटि दिनु पर्ने, एउटालाई जुटि दिनुपर्ने । जनतालाई हर्ष न विष्मात् । (भिडियोसहित)


सत्तारुढ नेकपाको आन्तरिक कलहले नेपालको राजनीतिनै संकटतर्फ धकेलिएको छ । लामो समयसम्म जेल नेल भोगेका नेताहरु आन्तरिक विवाद समाधानमा सक्षम हुनुपर्नेमा नेतृत्व असक्षम देखिंदैछ । नेकपाको आन्तरिक कलह मिलाउन छिमेकीको सहारा लिनु पर्ने अवस्थाले यो अवस्था देखिएको हो । वैदेशिक भ्रमण स्वभावक भए पनि आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेप नेपालीको लागि अस्वीकार्य देखिन्छ ।

झण्डै छापामार शैलीमा नेपालमा चिनियाँ प्रतिनिधि मण्डलको उच्चस्तरीय भ्रमण भएको छ । भ्रमणबारे सर्वसाधारणलाई त के, नेताहरुलाई समेत जानकारी नै नहुने गरी उत्तरी छिमेकी देश चीनको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री स्तरबाट नेपालको भ्रमण भएको विषयले अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो बढाएको छ । मुलुकमा राजनीतिक संकट बढिरहेको बेला यसरी उच्चस्तरीय भ्रमण हुनुले नेपाली राजनीतिक दल र दलका नेता कसका लागि कति काम गर्दा रहेछन भन्ने गम्भीर आशंका बढाएको छ ।

नेपालमा बसेर नेपालको लागि राजनीति गर्छु भन्ने धुरन्धर नेताहरुले देश सम्हाल्ने कुरा त परको भयो, पार्टी समेत सम्हाल्न नसकेको छर्लङग भएको छ । सत्तारुढ दल सम्हाल्न विदेशी नेता आउनु पर्ने अवस्था देखियो । लामो जेल नेल र राजनीति यात्राको कुरा गर्ने नेताकै दलको विवाद मिलाउन विदेशी आउनु पर्ने अवस्थाले नेपाली जनता लज्जित हुनुपर्ने अवस्था आएको छ । नेपालस्थित चिनियाँ राजदूत नेताहरुको घरघरमा दौड्ने र राजदूतलाई भेटन पूर्वप्रधानमन्त्री भइसकेकाहरु होटलमै पुग्ने लाजमर्दाे दृष्य नेकपा भित्रको राजनीतिमा समेत देखियो ।

यसले स्पष्ट गर्छ, नेपाली नेताहरु विदेशीको चाहनामै केन्द्रित भएर काम गरिरहेका छन् । विदेशीको चाहनामा मात्र काम गर्ने नेताले नेपाल र नेपालीको चाहना कहिले बुझ्छन ? २०४६ सालको जनआन्दोलनताका भारतीय नेता चेन्द्र शेखरले नेपाली कांग्रेसको लागि गरेको खुलेआम राजनीतिक हस्तक्षेपपछि सम्भवत चिनियाँहरुको यो कदम उच्च तहको हो । त्यतिबेला राजनीतिक हस्तक्षेप भएको थियो भने अहिलेको भ्रमणलाई राजनीतिक हस्तक्षेप भन्ने कि नभन्ने ? चिनियाँ उच्चस्तरीय नेता अहिले चार दिने भ्रमणमा छन । एक देशको हस्तक्षेप हुन्छ भने अर्काे देशको हस्तक्षेप हो कि होइन ? यसबारे दलहरु किन कोही बोल्दैनन् ? पार्टी समेत चलाउन नसक्नेले देश चलाउने काम के गर्छन ? नेतृत्वमाथि यस्ता अनेक खाले प्रश्न सामान्य नागरिक समेतले गर्न थालेका छन् । सरकारको नेतृत्व गरेको ठूलो दलको मान्यता पाएको नेकपा नेतृत्वले पार्टी चलाउन नसकेको छरपस्ट भएको छ ।

चाहे उत्तरी छिमेकीको कुरा गरौं चाहे दक्षिणी छिमेकीको कुरा गरौं । दुबै देशका पात्रहरु नेपालको लागि नभइ आफ्नो गुट बनाउन नै नेपालमा सक्रिय देखिन्छन, आएका देखिन्छन । नेपालको राजनीतिमा आपूm हावी हुन खोजिरहेका छन् । उनीहरुको आगमनको प्रमुख अभिष्ट नै यही हो । यस्तो प्रवृत्तिप्रति जनता वाक्क दिक्क भएका छन् । नेपालको आन्तरिक मामिलामा हुने यस्ता बाह्य गतिविधि तत्काल बन्द हुनुपर्छ ।

यस सम्बन्धमा नेतृत्व प्रतिवद्ध भइ देशलाई अघि बढाउने संकल्प नभएसम्म देशले काँचुली फेर्ने सम्भावना हुँदै हुँदैन । जबसम्म देशको समृद्धिको खाका कोरिदैन तबसम्म अर्काको देशमा हात फैलाउनुपर्ने बाध्यता रहिरहन्छ । सम्पूर्ण हिसाबले स्वर्णिम ठाउँमा बसेर विदेशीसँग भिख माग्ने अवस्थामा नेपाललाई पुर्याउने नेतृत्व पंक्ति अब त पार्टी संचालनमा समेत निकम्मा देखिन थालेका छन् । पार्टीको झगडा मिलाउन र नेतृत्व गरिदिन समेत विदेशीहरुलाई खुलेआम आव्हान गर्न थालेको परिदृष्य लज्जाजनक देखिन्छ । यही सेरोफेरोमा देशको नेतृत्व रुमलिएको छ ।

आफु केही गर्न नसक्ने अनि सबै कुरा अर्काले गरिदेला भन्ने दास मानसिकता नै हाम्रो देशको सबैभन्दा ठूलो अभिषाप हो । चाहे उत्तरी छिमेकी देशले गरोस, चाहे दक्षिणी छिमेकी देश या अन्य कुनै देशले गरोस । विदेशीको हस्तक्षेप नेपालीलाई स्वीकार्य हुँदैन । यही प्रवृत्ति निरन्तर रही रहेमा छिटृै नै यसको उचित जवाफ नेपाली जनताले दिनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);