चीनका रक्षामन्त्रीको अर्थपूर्ण नेपाल भ्रमण । भारत र अमेरिकलाई विशेष चासो (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चीनका रक्षामन्त्रीको अर्थपूर्ण नेपाल भ्रमण । भारत र अमेरिकलाई विशेष चासो (भिडियोसहित)

छिमेकी राष्ट्र चीन र भारतबाट नेपालमा उच्च स्तरीय भ्रमण हुने तय भएको छ । छिमेकी देशसंगको सम्बन्धमा पछिल्लो चिसोपन बढेको भनेर सरकारको आलोचना भइरहँदा छिमेकी देशबाट उच्चस्तरीय भ्रमण हुन लागेको छ । चीनका रक्षामन्त्री वेइ फेङहे र भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंगलाबाट हुन लागेको आसन्न नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भ्रमणले दुबै छिमेकी राष्ट्रसंग नेपालको सम्बन्ध अझ मजबुत हुने अपेक्षा गरिएको छ ।

छिमेकी देशसँगको सम्बन्धलाई लिएर सरकारको आलोचना भइ रहँदा छिमेकी देशको उच्चस्तरीय प्रतिनिधि मण्डलबाट नेपालको भ्रमण तालिका बाहिरिएको छ । एक साता भित्रै दुई महत्वपूर्ण छिमेकी देश भारत र चीनबाट नेपालको उच्चस्तरीय भ्रमण हुन लागेको छ । वर्तमान सरकारको नेतृत्वका कारण छिमेकी देशसँगको सम्बन्ध बिग्रेको भन्नेसम्मको आरोप सत्तापक्ष भित्रैबाट सरकारमाथि लागिरहँदा भारतीय विदेश सचिव र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण हुन लागेको छ । यसले छिमेकी देशसँगको सम्बन्ध बिग्रन नदिन सरकारले सन्तुलित वातावरण बनाइरहेको छ भन्ने नै देखिएको छ ।

केही समय अघि भारतीय गुप्तचर संस्था रअका प्रमुख र भारतीय स्थल सेनाको प्रमुखले नेपालको भ्रमण गर्दा र उच्चस्तरीय भेटघाट हुँदा अनेक नकारात्मक अडकलबाजी र टिप्पणी भएको थियो । त्यतिबेला भएका नकारात्मक टिप्पणीलाई चिर्ने गरी दक्षिणी छिमेकी देश भारतबाट विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले नेपालको भ्रमण गर्ने तयारी भएको छ भने अहिले उत्तरी छिमेकी देश चीनबाट रक्षामन्त्रीले एक साता भित्रै नेपालको भ्रमण गर्ने तयारी भएको छ । सत्तारुढ दल नेकपा भित्रको विवाद बढिरहेको बेला चिनियाँ राजदूतको सक्रियता बढ्नु र चीनका उच्चस्तरीय नेताबाटै नेपालको भ्रमण हुन लाग्नुलाई सकारात्मक तर अर्थपूर्ण रुपमा हेरिएको छ ।

चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर समेत रहेका वेई फेङ्हेबाट हुने एक दिने नेपाल भ्रमणको क्रममा उच्चस्तरीय राजनीतिक भेटघाट हुनेछ । चिनियाँ रक्षामन्त्री बेईजिङबाट मंसिर १४ गते काठमाडौं आउने कार्यक्रम छ । त्यही दिन उच्चस्तरीय भेटघाट हुनेछ । रक्षा मन्त्रीको समेत कार्यभार प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हाल्नु भएकोले चिनियाँ रक्षामन्त्रीले प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति र नेपाली सेनाका प्रधान सेनापतिसँग पनि भेटघाट हुनेछ । भेटघाट सकेर चिनियाँ रक्षामन्त्री काठमाडौंबाट सिधै बंगलादेशको राजधानी ढाका जाने र ढाकाको कार्यक्रम सकेर पाकिस्तानको राजधानी इस्लामावाद जाने कार्यक्रम छ । इस्लामावादबाट भने चिनियाँ रक्षामन्त्री बेइजिङ फर्कने कार्यक्रम रहेको छ ।

नेपालको एक दिने भ्रमण भए पनि नेपाल चीन दौत्य सम्बन्धको ६५ वर्ष पुगेको सन्दर्भमा यो भ्रमण हुन लागेकोले दुई देशको लागि महत्वपूर्ण र अर्थपूर्ण मानिएको छ । उच्चस्तरीय भेटघाटका क्रममा दुई देशको सम्बन्ध र सहयोगबारे छलफल त हुने नै छ । केही समय अघि नेपाल चीन सीमा विवादको विषय जबर्जस्ती उठाइएको विषयले पनि चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हुम्लामा नेपाली भूमि मिचेर चीनले भवन बनाएको विषय उठेको थियो । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले यसलाई उठाएको हो ।

यद्यपी नेपाल सरकारले होइन भनेर स्पष्ट पारिसकेको छ भने नेपाल स्थिति चिनियाँ दूतावासले पनि सीमा मिचिएको भन्ने समाचार सत्य नभएको भनेर स्पष्ट पारिसकेको छ । समाचारकै कारण उत्पन्न भ्रमलाई चिर्न पनि चिनियाँ रक्षामन्त्रीको भ्रमण फलदायी नै हुनेछ । त्यति मात्र होइन, यसले दुई देशबीच उच्चस्तरीय भ्रमणको लागि पनि थप ढोका उघार्ने छ । चिनियाँ रक्षामन्त्रीको भ्रमण लगत्तै चिनियाँ विदेश मन्त्रीको भ्रमण तालिका बन्ने कुटनीतिक विश्लेषकहरुको दावी छ । उता भारतीय विदेश सचिवको भ्रमणपछि भारतीय विदेश मन्त्री जय शंकरको पनि भ्रमण तालिका बन्नेछ ।

यी भ्रमणहरुले नेपालको छिमेकी देशसँगको सम्बन्धमा आँच आउन दिने छैन भन्ने सन्देश विश्व समुदायलाई प्रवाह गर्न सफल हुनेछ । तर भ्रमणमा हुने छलफल र सम्झौताका विषयहरुमा नेपालले बडो सुझबुझपन देखाउन जरुरी छ । नेपालले अंगीकार गर्दै आएको पञ्चशीलका आधारमा परराष्ट्र नीति र सम्बन्ध स्पष्ट पार्न सक्नु पर्नेछ । एक देशलाई खुशी पार्न अर्काे देशसँग नजिक हुन खोज्ने प्रवृत्तिलाई हटाउनु पर्छ । छिमेकी देशसँगको सम्बन्धलाई आर्थिक विकासको आधारसँग जोड्दै नेपालको विकासलाई विश्व समुदायसँग जोड्ने सामथ्र्य सरकारले राख्नुपर्नेछ । चीनबाट नेपालमा हुने उच्चस्तरीय भ्रमण छिमेकी देश भारत र अमेरिकासहित विश्व समुदायको लागि पनि चासोको विषय बन्ने निश्चित छ ।

केही समय अघि भारतमा भएको भारत र अमेरिकाको रक्षा तथा परराष्ट्र मन्त्रीहरुको क्षेत्रीय सुरक्षा सम्बन्धी भएको बैठकलाई चीनले नजिकबाट नियालेको छ । नेपालको लागि अमेरिकी सहयोग एमसीसी सम्झौता र त्यसको कार्यान्वयनमा देखिएको चुनौती पनि विश्वको लागि चासो बनिरहेकै छ । अमेरिकाको नयाँ राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि चीनसहित दक्षिण पूर्वी एशियालाई हर्ने दृष्टिकोण सार्वजनिक गर्नुले पनि चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण अमेरिकाको लागि पनि मुख्य चासो बन्ने नै छ । जे होस, छिमेकी देश भारत र चीनबाट हुने उच्चस्तरीय नेपाल भ्रमण र नेपालबाट हुने उच्च स्तरीय भ्रमणलाई नेपालले आफ्नो हितमा ल्याउन सक्नु नै अहिलेको लागि मुख्य प्राथमिकता बन्न आवश्यक छ । यसमा सत्तापक्ष र प्रतिपक्ष भएर कसैले पनि हेरिनु हुँदैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);