चितवनमा आक्रोशको अर्थः नेकपा सिद्धान्तमा च्युत, सत्ताको भुत (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चितवनमा आक्रोशको अर्थः नेकपा सिद्धान्तमा च्युत, सत्ताको भुत (भिडियोसहित)

सत्तारुढ नेकपाको केन्द्रीय नेतृत्वमा विकसित भईरहेको दुई धारे आन्तरिक विवादले तलका नेता कार्यकर्ताहरुलाई पनि प्रभावित बनाएको देखिएको छ । सिंहदरवारको कुर्सीलाई केन्द्रमा राखेर ठूला भनिएका नेताहरु बीच शुरु भएको यो कलहको बाछिटाले कार्यकर्ता समेतलाई विभाजित बनाउँदा पार्टी आन्तरिक रुपमा मुठभेडको दिशातर्फ धकेलिएको छ ।

शनिबार पार्टी कार्यक्रममा सहभागी हुन चितवन पुगेका नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री सुरेन्द्र पाण्डे विरुध्द भएको नारावाजी यसैको द्योतकका रुपमा बुझ्नु पर्ने हुन्छ । चितवनमा जे भएको छ त्यो गलत भएको छ । आफ्नै पार्टीका नेता सहभागी भएको कार्यक्रममा नाराबाजी हुनुलाई सामान्य रुपमा हेरिनु हुन्न । नेकपाका नेता आफ्नै गृह नगरमा जांदा यस्तो स्थिति आउनु पक्कै पनि दुर्भाग्यपूर्ण अवस्था हो । यस्तो हुनुलाई केन्द्रमा बढेको राजनीतिक धु्रवीकरणकै असर मान्न सकिन्छ ।

नेतृत्वले सुझबुझपूर्ण ढंगले पार्टी विवादलाई बेलैमा किनारा नलगाउने हो भने यस्तो प्रवृत्तीको डढेलो सतहत्तरै जिल्लामा नसल्केला भन्न सकिन्न । चितवन घटनाले अब परिस्थिति हेरेर मात्रै नेताहरुले पार्टी विवादमा बोल्नु पर्ने अवस्था सिर्जना गरिदिएको छ । विशेषगरी पार्टी भित्र उत्पन्न विवादमा दोश्रा तेश्रोे तहका नेताले समाधानमुखी बाटो अख्तियार गर्नुभन्दा आफ्नो गुटको छाता ओढेर अर्को पक्षको तेजोवध गर्न खोज्दा कार्यकर्ताहरु भड्किएर आफ्नै नेताहरु माथि जाईलाग्न थालेको दुर्भाग्यपूर्ण अवस्था नेकपामा विकसित भईरहेको छ ।

यतिबेला नेकपाका नेताहरुले सिद्धान्त र विचारको बहसबाट च्युत हुँदै सत्तामा मात्रै आशक्ती देखाउँदा जनता मात्रै होइन, कार्यकर्तामा समेत निराशा छाउँदै गएको छ । एकातिर, समृध्द नेपाल सुखी नेपालीको गुलियो नारा लगाउने तर अर्कोतिर नेताहरु जसरी पनि कुर्सी हत्याउने लिगलिगे दौडमा सामेल भएकै परिणाम आज नेकपा गम्भीर संकटमा फस्दै गएको हो । परिणामतः कार्यकर्ताहरु समेत आफ्नै नेता नचिन्ने उदेकलाग्दो अवस्थामा पुगेका छन् । यसले नेकपाको भविष्य अब कता तिर जाँदै छ भन्ने चिन्ता समेत बढाएको छ ।

नेपाली जनताले गत आम निर्वाचनमा स्थिर सरकारको परिकल्पना गर्दै नेकपालाई झण्डै दुई तिहाईको प्रचण्ड बहुमत दिएका थिए । यस अर्थमा नेकपाले जनतालाई एकताबद्ध पार्टी र सशक्त सरकारको प्रत्याभूति दिन सक्नु पर्ने थियो । तर, पटक पटक सत्ता दोहन गरेर अजिर्णको शिकार भएका कतिपय नेताहरुले काठमाण्डौमा आफ्नै सत्ता विरुद्ध गरेको हर्कतले आफ्नो सुन्दर वसन्तहरु पार्टीलाई सुम्पिएका लाखौं कार्यकर्ताहरुको मन यतिबेला कुंढिएको छ, त्यही आक्रोश यतिबेला अराजकतातर्फ मोडिएको संकेत चितवनले दिएको हो । गलत ढंगले उदाएको यो घटनाबाट पाठ सिक्दै नेकपाले आफुलाई तत्काल जनचाहना बमोजिम सुधार्नु आवश्यक छ ।

संसदीय ब्यवस्थामा सरकार पक्षको र संसद प्रतिपक्षको मानिन्छ । तर, नेकपाले पछिल्लो समय सत्ता पक्ष र प्रतिपक्ष पनि आफैं भएर जनतालाई गाईजात्रा देखाई रहेको छ । आफ्नै पार्टीका प्रधानमन्त्रीलाई अविश्वास गर्दै नेकपाकै वरिष्ठ भनिने नेताहरुले लगाएको आरोप हेर्दा अब यि नेताहरु एउटै डुंगामा सवार हुने वातावरण पनि धुमलिंदै गएको छ । जुट्न पनि नसक्ने फुट्न पनि नसक्ने गम्भीर रोगबाट यतिबेला नेकपा थलिएको अवस्था छ । जबसम्म पार्टी एकल नेतृत्व स्वीकार गरेर अगाडि बढ्दैन तबसम्म नेकपा यो रोगबाट बौरिने लक्षण पनि देखिएको छैन ।

त्यसैले गुट संरक्षक बन्दै सचिवालयमा आबद्ध नेताहरुमा मौलाएको ब्यक्तिवादी र सत्तामुखी प्रवृत्तीको ऐंजेरु उखेल्न आगामी स्थायी कमिटी र केन्द्रीय कमिटीले हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने बेला आईपुगेको छ ।


Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);